काठमाडौँ । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने १५ जना अझै सुरुङभित्र फसेका छन् ।
सोमबार टिस्टा नदीमा निर्माण भइरहेको सरकारी जलविद्युत् परियोजनाको सुरुङमा दुर्घटना भएको हो । घटनाका बेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।
सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाका अनुसार सुरुमा २५ देखि २७ जना मजदुर फसेको अनुमान गरिएको थियो । हालसम्म नौ जनाको शव निकालिएको छ भने बाँकीको उद्धारका लागि अभियान जारी छ ।
अधिकारीहरूका अनुसार सुरुङभित्र फैलिएको विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । अक्सिजन उपकरणसहितका विशेष टोली र खानी दुर्घटनामा उद्धारको अनुभव भएका विशेषज्ञलाई परिचालन गरिएको छ ।
प्रारम्भिक अनुमानमा विस्फोटका कारण सुरुङ भत्किएको हुन सक्ने बताइएको भए पनि दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । पछिल्लो समय परेको भारी मनसुनी वर्षाले पनि घटनामा असर गरेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेका पूर्वाधार निर्माणका क्रममा हुने दुर्घटनाबारे विज्ञहरूले पटक–पटक जोखिम औँल्याउँदै आएका छन् । यसअघि सन् २०२३ मा उत्तराखण्डको निर्माणाधीन सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म फसेका थिए, जसलाई उद्धार गरी सुरक्षित निकालिएको थियो ।




