२०८३ श्रावण १०

तुलसीपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ३० करोडभन्दा बढी राजस्व

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार उक्त रकम वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो । सो अवधिका लागि कार्यालयले ५ अर्ब ५ करोड ३३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

सङ्कलित राजस्वको विवरण:

राजस्व शीर्षकसङ्कलित रकम
आयकर२ अर्ब ३८ करोड ८१ लाख ५ हजार रुपैयाँ
मूल्य अभिवृद्धि कर (भ्याट)१ अर्ब १८ लाख ६६ हजार रुपैयाँ
अन्तःशुल्क७७ करोड २६ लाख ९८ हजार रुपैयाँ
अन्य राजस्व१४ करोड ३४ लाख ५१ हजार रुपैयाँ
कुल राजस्व सङ्कलन४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ

कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार उक्त राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९३ प्रतिशतले बढी हो ।

करिब १ लाख करदाता रहेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरको कार्यक्षेत्रमा दाङसहित प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्ला रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन तथा केही कागजातमा क्षति पुगे पनि सेवा प्रवाह भने निरन्तर रहेको कार्यालयले जनाएको छ । केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा दिएको कार्यालयले हाल त्रिसिद्धेश्वर मन्दिरको धर्मशाला भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।

करदाताको क्षमता अभिवृद्धिका लागि कार्यालयले गत आवमा विभिन्न १८ स्थानमा करसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

गत आर्थिक वर्षमा कार्यालयबाट ४ हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर (प्यान), २८ हजार ३८० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र ४ हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र दर्ता तथा नवीकरण गरेको कर अधिकृत पुनले जानकारी दिए ।