२०८३ श्रावण १०

कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, यात्रुको अवस्थाबारे विवरण आउन बाँकी

काठमाडौं । कीर्तिपुरको चोभार क्षेत्रमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी भएको छ ।

मंगलबार बिहान करिब साढे ११ बजे बा ५ च ३०३८ नम्बरको गाडीमा आगो लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिक प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको समयमा गाडीभित्र चालकसहित यात्रु रहेको आशंका गरिएको छ । उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Read More

वैदेशिक रोजगारी ठगीविरुद्ध सरकारले सुरु गर्‍यो अनलाइन उजुरी प्रणाली

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा हुने ठगी र समस्याको समाधानका लागि सरकारले ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उक्त पोर्टलको औपचारिक शुभारम्भ गरेका हुन् ।

नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारीका नाममा ठगी, बढी रकम असुली तथा अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित व्यक्तिले अब घरबाटै अनलाइन उजुरी दिन सक्नेछन् ।

यसअघि उजुरी दर्ताका लागि पीडितहरू विभागमै उपस्थित हुनुपर्ने बाध्यता थियो । अनलाइन प्रणाली सुरु भएपछि काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा पुग्नुपर्ने समस्या कम हुने मन्त्रालयले जनाएको छ ।

पीडितले मोबाइल वा कम्प्युटरबाट आवश्यक प्रमाणसहित उजुरी पठाउन सक्नेछन् । उजुरी दर्तापछि मोबाइल सन्देश र इमेलमार्फत जानकारी दिइनेछ भने ट्र्याकिङ कोडमार्फत उजुरीको अवस्था अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रणालीलाई प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग एपीआई इन्टिग्रेसनसमेत गरेको छ । सरकारले प्रविधिको प्रयोगबाट नागरिकको न्यायमा पहुँच सहज हुने र वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Read More

इरान–अमेरिका तनाव बढ्यो, खाडी क्षेत्रमा सैन्य जोखिम गहिरिँदै

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार, राडार र हवाई रक्षा प्रणालीलाई लक्षित गरी थप शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।

इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्ग पार गर्न खोजेका दुई तेल ट्याङ्करलाई रोकेको दाबी गरेको छ । यसैबीच अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य अभियान सुरु गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले मारिएका अमेरिकी सैनिकको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किएको बताएका छन् । पेन्टागनका अनुसार पछिल्लो संघर्षमा करिब १०० अमेरिकी सैनिक घाइते भएका छन् ।

हुथीहरूको साउदी बन्दरगाह अवरोध गर्ने धम्कीले विश्वको प्रमुख तेल आपूर्ति मार्ग होर्मुज जलमार्गमा असर पर्ने चिन्ता बढेको छ । साउदी अरेबियाले भने लाल सागरस्थित यानबु बन्दरगाहमार्फत तेल निर्यात जारी राखेको जनाएको छ ।

कूटनीतिक प्रयास जारी रहे पनि इरान र अमेरिकाबीचको सैन्य तनावले विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा थप जोखिम सिर्जना गरेको छ ।

Read More

प्रचण्ड आज जनकपुरधाम जाँदै, मधेशका नेतासँग छलफल गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन् ।

मंगलबार दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर पुगेपछि प्रचण्ड महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि जनकपुरधाम फर्किएर उनले मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

पार्टीका एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्न लागेको नयाँ तीनदलीय गठबन्धन तथा त्यसले मधेशको राजनीतिमा पार्ने प्रभावबारे प्रचण्डले प्रदेश नेतृत्वलाई जानकारी गराउनेछन् ।

यस्तै, प्रचण्डले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रममा प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधिहरूको अनिवार्य उपस्थितिका लागि पार्टीले निर्देशन दिएको जनाएको छ ।

Read More

लगातारको वर्षापछि ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो, पसलहरू जोखिममा

काठमाडौँ । लगातारको वर्षापछि ललितपुरको महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सडक भासिएको छ ।

सोमबार सडक भासिएपछि सडक छेउमा रहेका फर्निचर, क्याफे र किराना पसलहरू जोखिममा परेका छन् । सडकसँग जोडिएको भित्ता कमजोर रहेका कारण सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो ।

घटना हुँदा फर्निचरभित्र ६ जना व्यक्ति रहेका थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू तत्काल भागेर बाहिर निस्किएका थिए ।

फर्निचरमा जडान गरिएका चारवटा फलामे संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर सञ्चालकले बताएका छन् ।

Read More

आँखा उपचारबाट विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारसँगै विदेशी बिरामीको आकर्षण बढ्दै गएको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा विदेशी नागरिकलाई उपचार सेवा दिएर रु १ अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन गरेका छन्।

सगरमाथा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानका लागि चिनिएको नेपाल अब गुणस्तरीय र सुलभ आँखा उपचार सेवाका कारण स्वास्थ्य पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ।

सङ्घको देशभर फैलिएको २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत भारत, बङ्गलादेश, भुटानलगायत मुलुकका नागरिकले सेवा लिइरहेका छन्। विदेशी बिरामीको बढ्दो विश्वासले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता र अन्तर्राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा सङ्घको सञ्जालबाट नेपाली तथा विदेशी गरी ५ करोडभन्दा बढी आँखाका बिरामीले सेवा पाएका छन् भने ५६ लाखभन्दा बढीको शल्यक्रिया गरिएको छ।

नेपालका दक्ष नेत्र विशेषज्ञ, आधुनिक उपकरण, सफल उपचार परिणाम र तुलनात्मक रूपमा सस्तो सेवाका कारण विदेशी बिरामी उपचारका लागि नेपाल आउन थालेका हुन्। उपचारसँगै उनीहरूले होटल, यातायात, औषधि र स्थानीय बजारमा गर्ने खर्चले स्वास्थ्य पर्यटनमार्फत अर्थतन्त्रमा थप योगदान पुर्‍याउने सम्भावना देखिएको छ।

नेपाल नेत्रज्योति सङ्घले सन् १९७८ देखि आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। समुदायस्तरमा परीक्षण, दुर्गम क्षेत्रमा शिविर, विद्यालय आँखा कार्यक्रम र विशेषज्ञ उपचार सेवाको विस्तारले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर अहिले करिब ०.२८ प्रतिशतमा झरेको छ। स्पष्ट नीति, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सके नेपालले आँखा उपचारसहित स्वास्थ्य सेवालाई विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना देखिएको छ।

Read More

यातायात कार्यालय बाँकेमा सिस्टम अपडेट, अत्यावश्यकबाहेक अन्य सेवा एक साता रोकिँदै

काठमाडौं । यातायात व्यवस्था कार्यालय बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि र मिलानको काम भइरहेकाले अत्यावश्यक बाहेकका सेवाका लागि सेवाग्राहीलाई एक सातापछि मात्र कार्यालय आउन आग्रह गरेको छ।

कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यातायात क्षेत्रका विभिन्न प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले डाटाबेस स्थानान्तरण तथा प्रदेश सरकारले निर्धारण गरेका नयाँ करका दरहरू प्रणालीमा समावेश गर्ने काम भइरहेको जनाएको हो।

कार्यालयका अनुसार उक्त प्राविधिक प्रक्रिया पूरा गर्न करिब एक सातासम्म समय लाग्नेछ। त्यस अवधिमा अत्यावश्यक काम नभएका सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

प्रणाली अद्यावधिक गर्ने क्रममा सेवा प्रवाहमा केही असर पर्न सक्ने भएकाले कार्यालयमा हुने भीड व्यवस्थापन गर्न यस्तो अनुरोध गरिएको कार्यालयले जनाएको छ। यस अवधिमा सवारी दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्रलगायत यातायातसम्बन्धी सेवामा सामान्य असहजता आउन सक्ने बताइएको छ।

सेवा सुधारका लागि प्रणाली अपडेट

यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनालले जारी गरेको सूचनामा सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गरिएको छ। साथै यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंले पनि यसअघि नै प्रणाली सुधारसम्बन्धी सार्वजनिक अनुरोध जारी गरिसकेको जानकारी दिइएको छ।

कार्यालयले प्रणाली अद्यावधिक सम्पन्न भएपछि यातायात सेवा प्रवाह अझ छिटो, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। सेवाग्राहीलाई आवश्यक जानकारीका लागि कार्यालयका आधिकारिक सूचनालाई आधार मानी मात्र कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

सिरहामा वन अतिक्रमण हटाउँदै संरक्षण अभियान तीव्र, हरित पूर्वाधार निर्माणमा जोड

काठमाडौं । डिभिजन वन कार्यालय लहान, सिरहाले जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कार्यालय प्रमुख बेचन चौधरीका अनुसार गोलबजार नगरपालिका–स्थित चोहर्वा ब्यारेक आसपासको वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो।

त्यसैगरी बलान सामुदायिक वनको जग्गा अतिक्रमण गरी खेतीपाती गर्दै आएका क्षेत्रसमेत खाली गराइएको कार्यालयले जनाएको छ। वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन, सार्वजनिक स्थलको सुधार तथा वन पैदावार चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/८३ मा विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रमुख चौधरीले जानकारी दिए।

वन कार्यालयले नवराजपुर गाउँपालिकास्थित सोनबर्षा विद्यालय परिसरमा करिब १६ लाख रुपैयाँको लागतमा हरित पार्क निर्माण गरेको छ। पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, हिँड्ने बाटो (पदमार्ग) तथा विद्यार्थीका लागि खेलकुद र मनोरञ्जन गर्न खुला क्षेत्र तयार गरिएको छ।

यस्तै धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरीको २४ लाख रुपैयाँ खर्चेर संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ। योजनाअन्तर्गत पोखरीमा घाट निर्माण गर्नुका साथै वरपरको क्षेत्रलाई व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ।

धनगढीमाई मन्दिर परिसरमा चार लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको छ भने जिरोमाइल क्षेत्रको पार्कलाई तीन लाख ६० हजार रुपैयाँ खर्चेर मर्मत गरिएको छ।

वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन र बलान खोला सन्यासी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ।

त्यस्तै झ्वाई खोल्सी सामुदायिक वन तथा राजदेवी चुरे सामुदायिक वन क्षेत्रमा सिमसार संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदान सहयोगसमेत उपलब्ध गराइएको कार्यालय प्रमुख चौधरीले बताए।

अवैध वन पैदावार नियन्त्रणमा कडाइ

वन पैदावारको अवैध कटानी, संकलन तथा ओसारपसार रोक्न नियमित अनुगमन र गस्तीलाई प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ। वन पैदावार चोरी–तस्करीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

यसैगरी चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि पनि नियमित निगरानी बढाइएको छ। अनुगमन र गस्तीका कारण यस्ता गतिविधिमा कमी आएको सूचना अधिकारी चौधरीको भनाइ छ।

वन संरक्षणसँगै सार्वजनिक स्थलको सौन्दर्यीकरण, सिमसार क्षेत्रको संरक्षण, वृक्षारोपण र सामुदायिक वनको व्यवस्थापन सुधारमार्फत वातावरण संरक्षणलाई प्रभावकारी बनाउने लक्ष्य कार्यालयले लिएको छ।

स्थानीय समुदायको सहभागिता बढाउँदै प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको डिभिजन वन कार्यालयले जनाएको छ।

Read More

बारामा मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

काठमाडौं बाराको कलैया उपमहानगरपालिका–४ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति अनियन्त्रित भएको मिनी ट्रक घरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको हो।

प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो। दुर्घटनामा ट्रकमा सवार पासवान गम्भीर घाइते भएका थिए।

सोही दुर्घटनामा कलैया–४ का ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारका क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

प्रहरीले दुर्घटनामा संलग्न भएको आरोपमा मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुरका २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण घरको एकतर्फको पर्खालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

Read More

बारामा नदीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ की तीन वर्षीया बालिकाको नदीमा डुबेर मृत्यु भएको छ। सोमबार दिउँसो जीतपुरसिमरा–७ पहाडी टोलस्थित सरिसवा नदीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन्।

प्रहरीका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग आफन्तको घरमा गएकी थिइन्। सोही क्रममा घर नजिकै रहेको सरिसवा नदी किनारमा खेल्ने क्रममा उनी अचानक नदीमा डुबेकी हुन्।

घटना थाहा पाएपछि आमा सलियानले तत्काल नदीबाट बालिकाको उद्धार गरी जीतपुरसिमरा नगर अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More