काठमाडौं । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारसँगै विदेशी बिरामीको आकर्षण बढ्दै गएको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा विदेशी नागरिकलाई उपचार सेवा दिएर रु १ अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन गरेका छन्।
सगरमाथा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानका लागि चिनिएको नेपाल अब गुणस्तरीय र सुलभ आँखा उपचार सेवाका कारण स्वास्थ्य पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ।
सङ्घको देशभर फैलिएको २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत भारत, बङ्गलादेश, भुटानलगायत मुलुकका नागरिकले सेवा लिइरहेका छन्। विदेशी बिरामीको बढ्दो विश्वासले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता र अन्तर्राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा सङ्घको सञ्जालबाट नेपाली तथा विदेशी गरी ५ करोडभन्दा बढी आँखाका बिरामीले सेवा पाएका छन् भने ५६ लाखभन्दा बढीको शल्यक्रिया गरिएको छ।
नेपालका दक्ष नेत्र विशेषज्ञ, आधुनिक उपकरण, सफल उपचार परिणाम र तुलनात्मक रूपमा सस्तो सेवाका कारण विदेशी बिरामी उपचारका लागि नेपाल आउन थालेका हुन्। उपचारसँगै उनीहरूले होटल, यातायात, औषधि र स्थानीय बजारमा गर्ने खर्चले स्वास्थ्य पर्यटनमार्फत अर्थतन्त्रमा थप योगदान पुर्याउने सम्भावना देखिएको छ।
नेपाल नेत्रज्योति सङ्घले सन् १९७८ देखि आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। समुदायस्तरमा परीक्षण, दुर्गम क्षेत्रमा शिविर, विद्यालय आँखा कार्यक्रम र विशेषज्ञ उपचार सेवाको विस्तारले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।
सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर अहिले करिब ०.२८ प्रतिशतमा झरेको छ। स्पष्ट नीति, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सके नेपालले आँखा उपचारसहित स्वास्थ्य सेवालाई विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना देखिएको छ।




