काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–४ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति अनियन्त्रित भएको मिनी ट्रक घरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको हो।
प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो। दुर्घटनामा ट्रकमा सवार पासवान गम्भीर घाइते भएका थिए।
सोही दुर्घटनामा कलैया–४ का ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारका क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले दुर्घटनामा संलग्न भएको आरोपमा मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुरका २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण घरको एकतर्फको पर्खालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।



