२०८३ श्रावण १०

वैदेशिक रोजगारी ठगीविरुद्ध सरकारले सुरु गर्‍यो अनलाइन उजुरी प्रणाली

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा हुने ठगी र समस्याको समाधानका लागि सरकारले ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उक्त पोर्टलको औपचारिक शुभारम्भ गरेका हुन् ।

नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारीका नाममा ठगी, बढी रकम असुली तथा अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित व्यक्तिले अब घरबाटै अनलाइन उजुरी दिन सक्नेछन् ।

यसअघि उजुरी दर्ताका लागि पीडितहरू विभागमै उपस्थित हुनुपर्ने बाध्यता थियो । अनलाइन प्रणाली सुरु भएपछि काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा पुग्नुपर्ने समस्या कम हुने मन्त्रालयले जनाएको छ ।

पीडितले मोबाइल वा कम्प्युटरबाट आवश्यक प्रमाणसहित उजुरी पठाउन सक्नेछन् । उजुरी दर्तापछि मोबाइल सन्देश र इमेलमार्फत जानकारी दिइनेछ भने ट्र्याकिङ कोडमार्फत उजुरीको अवस्था अनुगमन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रणालीलाई प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग एपीआई इन्टिग्रेसनसमेत गरेको छ । सरकारले प्रविधिको प्रयोगबाट नागरिकको न्यायमा पहुँच सहज हुने र वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।