२०८३ श्रावण १०

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् भने तपाइँ हाम्रो सहकारीका ९० जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। आगामी चरणमा बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।