२०८३ श्रावण १०

तयारी पोशाक उद्योग पुनर्जीवनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले भोग्दै आएका समस्या समाधान गर्दै यस क्षेत्रलाई पुनर्जीवित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग क्षेत्रको वर्तमान अवस्था र समस्याबारे जानकारी लिएका थिए।

संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार छलफलमा सन् २००५ अघिको अवस्थाजस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनः सक्रिय बनाउँदै देशको अर्थतन्त्रलाई मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा विभिन्न मन्त्रालयमा रोकिएका तथा लामो समयदेखि समाधान हुन नसकेका समस्यालाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पाण्डेले जानकारी दिए।

प्रधानमन्त्री शाहले दुई दशकदेखि बन्द रहेका तयारी पोशाक उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको बताएका छन्।

त्यस्तै, कपडा तथा पोशाक उद्योगको विकासका लागि टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेको अध्यक्ष पाण्डेले बताए।