काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैध वित्तीय कारोबारमा प्रयोग भइरहेका दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको छ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो। उक्त कार्यसूचीको ४२औँ बुँदामा सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था उल्लेख गरिएको थियो।
सोही निर्णयअनुसार यसअघि नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएको भए पनि नयाँ नाम र स्वरूपमा यस्ता वेबसाइट पुनः सञ्चालनमा आउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यस वर्ष फिफा विश्वकपको समयमा अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै थप दुई लाख २३ हजार ५६८ वटा एप तथा वेबसाइट बन्द गरिएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि प्राधिकरणले विशेष निगरानी बढाएको जनाएको छ।
अनलाइन सट्टेबाजी नियन्त्रणका लागि प्राधिकरणले छुट्टै कार्यदलसमेत गठन गरेको छ। कार्यदलका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको सहकार्यमा त्यस्ता वेबसाइटका यूआरएल ब्लक गर्ने काम भइरहेको छ।




