काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्किएर आगो लागेको अवस्थामा उनलाई उद्धार गरिएको थियो।
घटनापछि आफन्तले तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा धादिङ पुगेपछि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि मृतकको शव पुनः कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। पारिवारिक, व्यक्तिगत वा अन्य सम्भावित कारणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



