२०८३ श्रावण ११

काँकडभिट्टा–लौकही सडक आयोजनाको पूर्वी खण्डमा ३८ प्रतिशत भौतिक प्रगति

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको ९५ किलोमिटर लामो उक्त आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेको छ ।

आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डअन्तर्गत पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण कार्यले गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले समयमै सम्पन्न गर्न म्याद थप आवश्यक देखिएको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ । मौसम अनुकूल भए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए ।

उनका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ । वर्षायामका कारण केही चुनौती भए पनि निर्माण कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

पूर्वी खण्डको स्तरोन्नतिको जिम्मा इभरस्कोन–कालिका जेभीले लिएको छ । काँकडभिट्टा–सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु १० अर्ब ६ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको हो ।

आयोजनाको निर्माण कार्य २०८० माघ १९ गतेदेखि सुरु भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एसियाली विकास बैङ्कको ८४ दशमलव ९ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको यो आयोजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेन सडक, तीन मिटर चौडा डिभाइडरसहित दुवैतर्फ सर्भिस लेन भएको आधुनिक सडक संरचना निर्माण हुनेछ ।