२०८३ श्रावण २५

अविरल वर्षाले सडक अवरुद्ध, पहिरो र बाढीले देशभर यातायात प्रभावित

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीनालामा आएको बाढी र कटानका कारण प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु क्षेत्रमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको आवागमनसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका विभिन्न सडकखण्डमा थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीको कटानका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।