काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाढीपहिरो, सडक अवरोध, रासायनिक मलको अभाव, सडक दुर्घटना तथा विभिन्न जिल्लाका स्थानीय समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसदहरूले वर्षाका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै सडक तथा यातायात अवरुद्ध भएको भन्दै उद्धार, राहत र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । किसानले रोपाइँ सकेर रासायनिक मलको प्रतीक्षा गरिरहेकाले तत्काल मल आपूर्ति सहज बनाउन पनि उनीहरूले माग गरे ।
सांसद आशिष गजुरेलले सडक दुर्घटनाबाट दैनिक ठूलो संख्यामा जनधनको क्षति भइरहेको उल्लेख गर्दै सडक सुरक्षा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे । उनले सिन्धुलीमा साउन १८ गते बसको ठक्करबाट कार नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनामा खोजी तथा उद्धारलाई तीव्रता दिन माग गरे ।
सांसद पार्वती विकले जाजरकोट सदरमुकाममा पहिरोका कारण आवतजावत प्रभावित भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरिन् । उनले रासायनिक मलको अभावसँगै खाना पकाउने ग्यासको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद समीक्षा बाँस्कोटाले मेची राजमार्गको माइखोला खण्डमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने गरेको भन्दै दिगो समाधान खोज्न माग गरिन् । सांसद रमेश मल्लले पश्चिम सल्यानमा खडेरीका कारण धानखेती प्रभावित भएको उल्लेख गर्दै तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन आग्रह गरे । उनले आधीखोलामा डुबेर बेपत्ता भएका बलदेव बस्नेतको खोजी तथा उद्धार गर्न पनि माग गरे ।
सांसद आशिका तामाङले वर्षायाममा निषेध हुँदाहुँदै धादिङलगायत क्षेत्रमा ढुङ्गा तथा बालुवा उत्खनन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले खानी सञ्चालनसम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्न माग गरिन् ।
सांसद इन्दिरा रानामगरले भक्तपुरस्थित सुधार केन्द्रमा भएको मृत्युको घटनाप्रति ध्यानाकर्षण गराउँदै सुधार केन्द्रमा सिर्जनात्मक गतिविधि, खुला वातावरण र नियमित सरकारी अनुगमनको व्यवस्था गर्न माग गरिन् ।
सांसद प्रकाश सिंह कार्कीले नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई नेपाल ट्रान्जिट वेयर हाउस कम्पनी लिमिटेडमा गाभ्ने मन्त्रिपरिषद्को निर्णय पुनर्विचार गर्न माग गरे । दुवै संस्थाको उद्देश्य र कार्यक्षेत्र फरक रहेको भन्दै उनले आवश्यक सुधारसहित संस्थाहरूलाई सुदृढ बनाउन आग्रह गरे ।
सांसद बोधनारायण श्रेष्ठले सडक सुरक्षाका लागि सडक पूर्वाधारसँगै चालकको स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने बताए । उनले प्रत्येक छ महिनामा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न सरकार र यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
सांसद ताहीर अलि भाटले रुपन्देहीमा सुकुमवासीलाई जग्गा वितरणका विषयमा प्रचारभन्दा दीर्घकालीन समाधानमा ध्यान दिन आग्रह गरे ।
सांसद प्रकाश पाठकले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा नेपाली नागरिक संकटमा पर्ने क्रम बढेको भन्दै विदेशमा रहेका संकटग्रस्त तथा जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गरी कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।
सांसद राजेन्द्रकुमार राईले धनकुटाका नवराज तामाङ असार २३ गतेदेखि सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनको तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कामिनी कुमारीले महोत्तरीको जलेश्वर कारागार जीर्ण अवस्थामा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी राखिएको भन्दै तत्काल पुनःनिर्माण गर्न माग गरिन् । उनका अनुसार ३०० जनाको क्षमता रहेको कारागारमा ५०० भन्दा बढी कैदीबन्दी रहेका छन् ।




