काठमाडौं । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका छन्। बिहीबार बिहान करिब पौने ११ बजे उनी कोठा नम्बर २०७ मा मृत फेला परेका हुन्।
बारा सुवर्ण गाउँपालिका–२ का पासवान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी आएपछि भक्तपुर स्थानान्तरण गरिएका भूमिहीन परिवारमध्येका थिए। आफ्नो परिवारको दीर्घकालीन व्यवस्थापन हुन नसकेको विषयमा उनी चिन्तित रहेको बताइएको छ।
घटनापछि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थल पुगेको थियो। तर, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले शव उठाउन नदिएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा नगरी फर्किएको जनाइएको छ।
पासवान श्रीमती तथा छोरा–बुहारीसँगै होल्डिङ सेन्टरमा बस्दै आएका थिए। घटनाका समयमा उनकी श्रीमती बारा गएको र उनी कोठामा एक्लै रहेको बताइएको छ।
घटनापछि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आफ्नो उचित तथा दीर्घकालीन व्यवस्थापनको माग गर्दै विरोध जनाएका छन्। उनीहरूले राज्यले आफूहरूको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
प्रशासनले घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाउने जनाएको छ।



