२०८३ श्रावण २८

झापामा जेई संक्रमणबाट चार महिनामा पाँच जनाको मृत्यु

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमध्ये मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका छन् । जेई क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । संक्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्ने गर्छ ।

सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोत मानिन्छ । सुँगुर पालन गर्ने तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्ने व्यक्ति संक्रमणको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन् । उनले सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन पनि अनुरोध गरेका छन् ।