२०८३ श्रावण २९

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक बेपत्ता, दुई घाइते

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घर पुरिँदा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

गए रातिदेखि परेको लगातारको वर्षाका कारण स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ।

लगातारको वर्षाका कारण घाइतेको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाले जानकारी दिए।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको छ।