२०८३ श्रावण २९

मेचीनगरले सुरु गर्‍यो ‘शून्य बेरुजु’ अभियान

काठमाडौं। झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि फर्छ्योट हुन बाँकी बेरुजु रकम घटाउँदै शून्यमा पुर्‍याउने लक्ष्यसहित ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ। नगरपालिकाका अनुसार लामो समयदेखि फर्छ्योट नभएको बेरुजु बढ्दै गएपछि अभियान सञ्चालन गरिएको हो।

मेचीनगर नगरपालिका २०५३ सालमा स्थापना भएको हो। नगरपालिकाको स्थापना हुनुअघिका गाउँ विकास समितिको समयदेखिका आर्थिक बेरुजुसमेत फर्छ्योट हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फर्छ्योट गर्न सम्बन्धित पक्षलाई सार्वजनिक सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए।

नगरपालिकाले अभियानलाई चरणबद्ध रूपमा अघि बढाउने भएको छ। दोस्रो चरणमा निर्माण व्यवसायी तथा उद्योगी–व्यवसायीको बेरुजु फर्छ्योटका लागि उनीहरू आबद्ध संघ–संस्थामार्फत सहजीकरण गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने योजना बनाइएको छ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको उक्त आर्थिक वर्षको बेरुजु १४ करोड ९९ लाख ४३० रुपैयाँ रहेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु ८१ करोड ३० लाख ४१ हजार ४८७ रुपैयाँ रहेको छ।

बेरुजुको विवरणरकम
आर्थिक वर्ष २०८१/८२ को बेरुजु१४ करोड ९९ लाख ४३० रुपैयाँ
आव २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु८१ करोड ३० लाख ४१ हजार ४८७ रुपैयाँ
हालसम्मको कुल बेरुजु९६ करोड २९ लाख ९६ हजार ९१७ रुपैयाँ

यसरी मेचीनगर नगरपालिकाको हालसम्मको कुल बेरुजु ९६ करोड २९ लाख ९६ हजार ९१७ रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बेरुजु शून्यमा झार्ने लक्ष्यसहित निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी तथा अन्य सम्बन्धित पक्षलाई फर्छ्योटमा सहयोग गर्न आग्रह गरिएको बताए। फर्छ्योटका लागि सम्बन्धित पक्षलाई पत्राचार गरी पर्याप्त समयसमेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

अभियान सुरु भएपछि लामो समयदेखि बेरुजु दाखिला वा फर्छ्योट नगरेका केही सरोकारवाला सम्पर्कमा आउन थालेका छन् भने कतिपयले पुरानो बेरुजु फर्छ्योटसमेत गरेको नगरपालिकाले जनाएको छ।