२०८३ श्रावण २९

सङ्खुवासभामा प्रसारण लाइन आयोजनाले २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गरायो

काठमाडौं, साउन २९ । सङ्खुवासभामा नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले राष्ट्रिय वन क्षेत्र प्रयोग गरेबापत २८.४८ हेक्टर सट्टाभर्ना जग्गा सरकारलाई हस्तान्तरण गरेको छ।

प्रसारण लाइन तथा टावर निर्माणका क्रममा प्रयोग भएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी डम्बर भण्डारीका अनुसार आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गरेको थियो। त्यसको सट्टाभर्नाका लागि पाँचखपन नगरपालिका–४ मा रहेका ७१ कित्ता जग्गा खरिद गरी केही दिनअघि डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिएको हो।

यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माणाधीन २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटान तथा वन व्यवस्थापनबापत २ करोड ५२ लाख २५ हजार रुपैयाँ राजस्व दाखिला गरेको छ।

वन कार्यालयका अनुसार आयोजनाका लागि ६०७ वटा रुख कटान हुनेछन्। रुख कटानपछि वन क्षेत्रको स्याहार, सम्भार तथा व्यवस्थापनका लागि आयोजनाले उक्त राजस्व बुझाएको सूचना अधिकारी भण्डारीले बताए।

सङ्खुवासभामा हाल २९० वटा सामुदायिक वन रहेका छन्। जिल्लाको कुल ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको वन कार्यालयले जनाएको छ।