काठमाडौं । गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्र तथा अस्पतालमा एन्टी स्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) पठाउन थालिएको छ।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन सुरु गरिएको हो।
सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको उनले जानकारी दिए। अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि आपूर्ति भइरहेको छ।
उनका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि ल्याउने प्रक्रिया अघि बढाइएको छ। कुनै पनि उपचार केन्द्रमा औषधिको अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए।
पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। ग्रामीण क्षेत्रमा खेतबारी तथा घरवरपर सर्पको गतिविधि बढेसँगै जोखिम थपिएको उनले बताए। केही दिनअघि एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ।
सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरका झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुटलगायत सुरक्षात्मक सामग्री प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। सर्पले टोकेमा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नसमेत आग्रह गरिएको छ।
मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन तथा गर्मीयाममा देखिने प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।




