काठमाडौं। नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले आमाबाट छोरीमा गरिएको जीवितदाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।
विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था जटिल रहेकाले करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीपछि स्वास्थ्य अवस्था स्थिर बनाएर प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको उक्त जीवितदाता कलेजो प्रत्यारोपण सफल भएको हो।
बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार सेवासमेत विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
एक आमाको त्याग र चिकित्सकहरूको समर्पणबाट सम्भव भएको यो सफलताले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकास र विस्तारतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको केन्द्रको विश्वास छ।




