काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग रोकिएको संवाद भविष्यमा पुनः सुरु हुन सक्ने संकेत गरेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानसँगको वर्तमान अवस्था आफूअनुकूल रहेको दाबी गरेका छन्।
ट्रम्पका अनुसार वासिङ्टनको प्रमुख उद्देश्य इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु हो। उनले इरानले परमाणु हतियार हासिल गर्न नपाउने दाबी गर्दै त्यसका लागि अमेरिका आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि हर्मुज जलसन्धिको सञ्चालन प्रभावित भएको थियो। सोही अवस्थाबारे बोल्दै ट्रम्पले उक्त जलक्षेत्र अहिले अमेरिकी नियन्त्रणमा रहेको दाबी गरेका छन्।
हाल भने अमेरिका र इरानबीच औपचारिक संवाद अघि बढेको छैन। सीएनएनका अनुसार ट्रम्पले आफ्ना वार्ता टोलीलाई इरानसँगको सम्पर्क स्थगित गर्न निर्देशन दिएका छन्।
यसअघि मंगलबार सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिका र इरानबीच तत्काल कुनै वार्ता भइरहेको वा नयाँ वार्ताको मिति तय भएको भन्ने विवरण अस्वीकार गरेका थिए। उनले अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेको पनि बताएका छन्।




