२०८३ भाद्र ८

निजामती कर्मचारी अस्पतालमा आइतबार विशेष ओपिडी सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी र उनीहरूका परिवारका लागि प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति, छाला, नाक–कान–घाँटी, रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध हुनेछन्।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार सेवामा आगामी दिनमा थप विशेषज्ञ सेवा पनि समावेश गरिनेछ। कर्मचारीलाई लामो समय लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको उनले बताइन्।

Read More

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ शुक्रबारदेखि दुबई निर्यात गर्न थालेको छ।

नेपाली उपभोक्तालाई लक्षित गर्दै पहिलोपटक ६ सय किलो घिउ जहाजमार्फत दुबई पठाइएको डीडीसीले जनाएको छ। निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

दुबईमा परीक्षण बिक्रीपछि मागअनुसार थप घिउ निर्यात गरिने डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए। आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने तयारी रहेको उनले जानकारी दिए।

डीडीसीले दुबईसहित मध्यपूर्वका अन्य देशमा पनि घिउलगायत आफ्ना उत्पादन निर्यात गर्ने तयारी गरेको जनाएको छ।

Read More

हेटौँडामा बाढीमा बेपत्ता ११ वर्षीया बालिकाको शव भेटियो

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ। सुरक्षाकर्मीको टोलीले उनको शव शुक्रबार बिहान फेला पारेको हो।

गत मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार बालिका खहरेमा बगेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा तीन बालिकाको मृत्यु भएको छ भने एक बालिका बाढीले किनारतर्फ बगाउँदा ज्यान जोगाउन सफल भएकी छन्।

Read More

जाजरकोटमा बाढीमा परी दुई जना बेपत्ता

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह रहेका छन्। डोग्रा खोलामा आएको बाढीले बगाउँदा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

Read More

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार वनस्थलीस्थित घण्टीघरमा सुरु भएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना तथा आगामी कार्यक्रम र अभियानबारे छलफल हुनेछ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने कार्यसूची छ।

यस्तै, केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी र विभागीय प्रमुखको मनोनयन, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन तथा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।

रास्वपाको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको आचार्यले बताए।

Read More

अर्थमन्त्री वाग्लेद्वारा सरकारका आर्थिक नीतिको बचाउ

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारका आर्थिक नीति, बजेट, कर प्रणाली, विद्युत् महसुल र राजस्व वृद्धिलगायत विषयमा उठेका प्रश्नको बचाउ गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै वाग्लेले दीर्घकालीन आर्थिक सुधारका लागि सरकारले कतिपय अलोकप्रिय तर आवश्यक निर्णय लिएको बताए।

उनले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न सुशासन र आर्थिक गतिविधि विस्तार आवश्यक रहेको बताए। बजेट निर्माणमा आफू र प्रधानमन्त्रीबीच लामो छलफलपछि निर्णयमा पुगिएको उनको भनाइ थियो।

विद्युत् महसुलमा विपन्न वर्गलाई राहत दिने, पुँजी बजारलाई व्यवस्थित गर्ने तथा क्रिप्टो माइनिङबारे अध्ययन गर्ने तयारी रहेको उनले बताए। वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गरिने र अन्जानमा कालोसूचीमा परेका नागरिकलाई राहत दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले कर नीति, बजेट व्यवस्थापन तथा पार्टीभित्रको टिकट वितरणमा पारदर्शितालगायत विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। वाग्लेले सरकार सुशासनको जगमा अघि बढिरहेको दाबी गर्दै नागरिकलाई धैर्य गर्न आग्रह गरे।

Read More

राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो कार्यकाल डिसेम्बर ३१ मा सकिँदैछ।

पहिलो स्ट्र पोलमा कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहेकी थिइन्। दोस्रो मतदानबाट उम्मेदवारहरूको समर्थनको अवस्था र प्रतिस्पर्धा कुन दिशामा अघि बढिरहेको छ भन्ने आकलन गरिनेछ।

प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल छन्। इक्वेडरकी इभोन ए–बकीले पनि पछिल्लो समय उम्मेदवारी घोषणा गरेकी छन्।

सुरक्षा परिषद्का १५ सदस्यबीच हुने मतदानमा कम्तीमा नौ मत आवश्यक पर्छ। पाँच स्थायी सदस्यमध्ये कुनै एकको भिटो भएमा उम्मेदवार अघि बढ्न सक्दैनन्।

सुरक्षा परिषद्को सिफारिसपछि महासचिवको अन्तिम चयन संयुक्त राष्ट्रसङ्घको महासभाले गर्नेछ। क्षेत्रीय सन्तुलनको परम्पराअनुसार यसपटक ल्याटिन अमेरिकाबाट महासचिव चयन हुने अपेक्षा गरिएको छ।

Read More

मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन्।

समाज कल्याण परिषद्को टोलीसहित अनुगमनमा पुगेकी मन्त्री बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिएकी छन्।

उनले भृकुटीमण्डपका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा सञ्चालन र आम्दानीबारे सम्बन्धित अधिकारीसँग जानकारी लिइन्।

राजधानीको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भृकुटीमण्डपको उपलब्ध क्षेत्र र संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

Read More

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव रहेको छ।

उनले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्।

Read More

प्रधानमन्त्री बालेनको आकस्मिक मुस्ताङ भ्रमणले बढायो राजनीतिक चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शुक्रबार तय भएको आकस्मिक मुस्ताङ भ्रमणले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ। प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ जाने तयारीमा रहँदा सोही दिन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पनि पोखरा आगमन हुने भएपछि भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले भ्रमणको उद्देश्य, भेटघाट र कार्यसूचीबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनलाई भने अन्तिम समयमा भ्रमणबारे जानकारी गराइएको बताइएको छ।

मुस्ताङ सामरिक, वातावरणीय र जलस्रोतका दृष्टिले संवेदनशील क्षेत्र भएकाले प्रधानमन्त्रीको भ्रमणलाई विभिन्न कोणबाट हेरिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, सीमावर्ती सुरक्षा तथा विकास आयोजनाको अवस्थाबारे स्थलगत जानकारी लिन भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपि, भ्रमणको वास्तविक उद्देश्यबारे प्रधानमन्त्री सचिवालयबाट आधिकारिक जानकारी नआएसम्म विभिन्न अड्कलबाजी मात्रै हुने देखिन्छ।

Read More