२०८३ भाद्र ८

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ शुक्रबारदेखि दुबई निर्यात गर्न थालेको छ।

नेपाली उपभोक्तालाई लक्षित गर्दै पहिलोपटक ६ सय किलो घिउ जहाजमार्फत दुबई पठाइएको डीडीसीले जनाएको छ। निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।

दुबईमा परीक्षण बिक्रीपछि मागअनुसार थप घिउ निर्यात गरिने डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए। आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत निर्यात गर्ने तयारी रहेको उनले जानकारी दिए।

डीडीसीले दुबईसहित मध्यपूर्वका अन्य देशमा पनि घिउलगायत आफ्ना उत्पादन निर्यात गर्ने तयारी गरेको जनाएको छ।