काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी र उनीहरूका परिवारका लागि प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति, छाला, नाक–कान–घाँटी, रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध हुनेछन्।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार सेवामा आगामी दिनमा थप विशेषज्ञ सेवा पनि समावेश गरिनेछ। कर्मचारीलाई लामो समय लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको उनले बताइन्।




