२०८३ भाद्र ९

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार वनस्थलीस्थित घण्टीघरमा सुरु भएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना तथा आगामी कार्यक्रम र अभियानबारे छलफल हुनेछ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने कार्यसूची छ।

यस्तै, केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी र विभागीय प्रमुखको मनोनयन, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन तथा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।

रास्वपाको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको आचार्यले बताए।