काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधान गर्न एक–डेढ साताभित्र आयोग गठन हुने बताएकी छन्।
आइतबार कञ्चनपुरमा आयोजित विस्थापितको भेलालाई सम्बोधन गर्दै मन्त्री रावलले सरकारले पीडितको मागअनुसार आयोग गठन गरी समस्या समाधानको प्रक्रिया अघि बढाउने बताइन्। उनले अब माग लिएर काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको भन्दै आन्दोलनका कार्यक्रम अन्त्य गरेर आयोगलाई सहयोग गर्न आग्रह गरिन्।
विसं २०५८ मा शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार परिवार उचित व्यवस्थापनको माग गर्दै विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन्।
मन्त्री रावलले कञ्चनपुरका विभिन्न पालिकाका भूमिहीन सुकुमवासीलाई पनि सरकारले लालपुर्जा वितरण गर्ने बताइन्। कानुनी सुधार भइसकेकाले जिल्ला भूमि आयोगले छिट्टै काम अघि बढाउने उनको भनाइ थियो।
यस क्रममा उनले निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकनसमेत गरिन्।




