काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले सरकारले व्यावहारिक अवस्था नबुझी शैक्षिक परामर्श व्यवसायीमाथि एकतर्फी रूपमा धरौटीको व्यवस्था थोपरेको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार मेरियट होटलमा आयोजित इक्यानको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै पौडेलले सरकारको नीति निर्माण प्रक्रिया र नियतमाथि प्रश्न उठाए।
उनले विधेयक तथा नियमावली निर्माणका क्रममा सरोकारवालासँग पर्याप्त छलफल नगरिएको बताए। नयाँ नियमावली आउँदा आफूहरू सकारात्मक रहे पनि विभेदकारी प्रावधान देखिएपछि विरोध गर्नुपरेको उनको भनाइ थियो।
पौडेलले व्यवसायीको वास्तविक अवस्था र देशको आर्थिक धरातल नबुझी कानुन तथा नियम ल्याउँदा अहिलेको अवस्था सिर्जना भएको बताए।
वैदेशिक अध्ययनका लागि सरकारले ‘एनओसी’ जारी गरे पनि विदेश पुगेपछि विद्यार्थीले भोग्ने समस्या र त्यससम्बन्धी जिम्मेवारीबाट सरकार पन्छिन नहुने उनको भनाइ थियो।



