काठमाडौं । रसुवामा आएको बाढीबाट हुनसक्ने थप क्षतिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले उद्धार, राहत तथा स्वास्थ्य उपचारका लागि आवश्यक तयारी तीव्र बनाएको छ।
सशस्त्र प्रहरीका अनुसार काठमाडौंस्थित नेपाल एपीएफ अस्पतालमा १०० शय्या र आवश्यक स्वास्थ्यकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको छ। सम्भावित घाइते तथा बिरामीको तत्काल उपचार गर्न अस्पताललाई तयारी अवस्थामा राखिएको हो।
यसैगरी, सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। आवश्यक परे उनीहरूलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको टोली नुवाकोटतर्फ पठाइएको छ।
यसैबीच, रसुवाको पछिल्लो अवस्थाबारे भने थप विवरण प्राप्त हुन नसकेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकायले निरन्तर समन्वय गरिरहेको छ।




