काठमाडौं। प्रधानमन्त्री वालेन्द्र साहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री साहले प्रभावित क्षेत्रको अवस्था, भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए।
बैठकपछि उनले प्रभावित नागरिकको खोजी, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय तथा सुरक्षा संयन्त्रलाई आवश्यक समन्वयका साथ परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
प्रधानमन्त्री साहले विपद्को यस कठिन अवस्थामा सबैलाई आ–आफ्नो क्षेत्रबाट प्रभावित स्थानमा परिचालित भएर नागरिकको उद्धार, खोजी तथा राहतमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।




