काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ जना र मैलुङबाट चार जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली रसुवातर्फ प्रस्थान गरिसकेको छ। सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यमा परिचालित रहेको जनाइएको छ।
सुरक्षा निकायका अनुसार बाढीका कारण रसुवागढी क्षेत्रमा कार्यरत केही कर्मचारी, पर्यटक तथा सर्वसाधारणसमेत सम्पर्कबाहिर रहेका छन्। उनीहरूको अवस्थाबारे पनि खोज तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ।




