काठमाडौँ । गत भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली क्षेत्र जलमग्न हुँदा स्थानीय जनजीवनसँगै सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। बाढीमा कृषि विकास बैंकको त्रिशूली ढुङ्गे शाखासमेत डुबानमा परेपछि बैंकमा रहेको ठूलो परिमाणको नगद, सुनचाँदी तथा महत्त्वपूर्ण कागजातको सुरक्षामा चिन्ता बढेको थियो। तर, सुरक्षा निकायको निरन्तर प्रयास र बैंक प्रशासनसँगको समन्वयमा बैंकभित्र रहेका बहुमूल्य सामग्री सुरक्षित रूपमा निकालिएको छ।
प्रहरीका अनुसार आइतबार करिब आठ घण्टासम्म सञ्चालन गरिएको खोज तथा उद्धार अभियानपछि बैंकको लकर र ढुकुटीमा रहेका बहुमूल्य सामग्री सुरक्षित स्थानमा सारिएको हो।
उद्धार टोलीले बैंकबाट करिब ५० करोड रुपैयाँ बराबरको सुनचाँदी तथा करिब डेढ करोड रुपैयाँ नगद सकुशल बरामद गरेको प्रहरीले जनाएको छ। नगद तथा सुनचाँदीका अतिरिक्त बैंकका संवेदनशील सरकारी तथा ग्राहकसम्बन्धी महत्त्वपूर्ण कागजातसमेत सुरक्षित निकालिएको छ।
बाढीको लेदो र पानीले भरिएको बैंक भवनभित्र प्रवेश गरी ढुकुटीसम्म पुग्नु उद्धार टोलीका लागि चुनौतीपूर्ण थियो। बाढी आएलगत्तै बैंकमा सुरक्षित राखिएका धनमाल चोरी हुने वा नष्ट हुने जोखिमसमेत बढेको थियो।
सुरक्षा निकाय र बैंक प्रशासनको संयुक्त पहलमा सञ्चालन गरिएको विशेष उद्धार अभियानले सम्भावित ठूलो वित्तीय क्षति हुनबाट जोगाएको छ।
विपद्को समयमा सुरक्षाकर्मीले देखाएको तदारुकता र सफल उद्धारपछि बैंकका ग्राहक तथा स्थानीय बासिन्दामा राहत र विश्वास बढेको छ। सुरक्षित निकालिएका सम्पूर्ण नगद, सुनचाँदी तथा अन्य सामग्रीलाई अहिले कडा सुरक्षा घेराभित्र राखिएको जनाइएको छ।




