२०८३ भाद्र २९

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेनाको टोली फर्कियो

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजीका लागि खटिएको नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा परिचालित उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको हुनसक्ने आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको टोली इन्जिनियर तथा ड्रोन टोलीसहित खोजीमा परिचालन भएको थियो।

सेनाको टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो। त्यस क्रममा ड्रोनसमेत प्रयोग गरेर सुरुङका विभिन्न क्षेत्रमा निरीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि त्यहाँ मानिस फसेको आशंका तत्कालका लागि टरेको जनाइएको छ।

सुरुङभित्र कोही पनि व्यक्ति नरहेको पुष्टि भएपछि नेपाली सेनाको उद्धार टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो।