काठमाडौं। इलामको पुवाखोलामा बेलिब्रिज पुल जडानको काम सुरु गरिएको छ। २३० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज जडान सुरु भएको हो।
सङ्घीय सरकारको २ करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा बेलिब्रिज जडान गर्न लागिएको हो। सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेका अनुसार पुल दुई साताभित्र जडान गरी सञ्चालनमा ल्याउने तयारी छ।
इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडानका लागि भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ।
पुल जडानका लागि आवश्यक सिभिल संरचना गत आर्थिक वर्षमै तयार भइसकेको थियो। भारत सरकारको अनुदानस्वरूप नेपालले उक्त बेलिब्रिज प्राप्त गरेको हो।
बेलिब्रिज जडानको काम सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। पुल सञ्चालनमा आएपछि उक्त सडक मेची राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि वर्षायाममा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको उक्त सडक इलामदेखि बिर्तामोडसम्म करिब ५० किलोमिटर दूरीको छ। इलाम खण्डअन्तर्गत माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माणाधीन रहेको छ।




