२०८३ भाद्र २८

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा आइतबार बिहानदेखि सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरिरहेका कारण तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेपछि वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम जारी छ। सडकको करिब १०० मिटर भाग भासिनुका साथै चिरिएको छ। जोखिम बढेपछि पैदलयात्रासमेत रोकिएको छ।

उनका अनुसार तत्काल सडक निर्माण वा मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन। त्यसैले विज्ञहरूको टोलीले वैकल्पिक मार्गको अध्ययन सुरु गरेको छ।

पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल सञ्चालन गर्न नसकिने अवस्था आएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन्। उनका अनुसार नदीको कटानका कारण सडकको भित्तोसहित आसपासको भूभागमा समेत चिरा परेको छ।

“खोलाले कटान गरिरहेको छ। कति झर्छ भन्ने यकिन भन्न सकिने अवस्था छैन,” अधिकारीले भनिन्।

सडकको भित्तोमाथि रहेको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको उनले जानकारी दिइन्। विषयविज्ञबाट विस्तृत अध्ययन गराएपछि कसरी काम अघि बढाउने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।

डाँडामाथि बस्तीसमेत रहेकाले सडकको भित्तो काटेर तत्काल मर्मत गर्न सम्भव नभएको अधिकारीले बताइन्। “भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ,” उनले भनिन्।

सडक तत्काल सञ्चालन गर्न नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङबेसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक सडकको अध्ययन भइरहेको छ।

पृथ्वी राजमार्गबाट त्रिशूली नदी पार गरी अन्य राम्रो सडक प्रयोग गर्दै गन्तव्यतर्फ जान सकिने सम्भावित मार्गको खोजी भइरहेको अधिकारीले बताइन्। तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने सडक पहिचान गरी प्रयोगमा ल्याउने तयारी भइरहेको छ।

पूर्वबाट आउने सवारीसाधनले मकवानपुरतर्फका वैकल्पिक सडक प्रयोग गर्न सक्ने भए पनि पश्चिम तथा पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई जोड्ने महत्वपूर्ण ‘लाइफलाइन’ सडकका रूपमा रहेको छ। यस सडकमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। राजधानीमा ग्यासका बुलेटलगायत ठूला सवारीसाधनसमेत यही मार्गबाट आवतजावत गर्ने भएकाले कृष्णभीरमा सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ।

केही वर्षअघिसम्म पहिरो तथा सडक भासिने समस्याले निकै दुःख दिएको कृष्णभीरमा मर्मतसम्भार तथा पहिरो रोकथामका काम गरिएपछि पछिल्ला वर्षहरूमा समस्या देखिएको थिएन। तर, त्रिशूली नदीको निरन्तर कटानका कारण पुनः सडक जोखिममा परेको हो।