काठमाडौं । काठमाडौं–हेटौँडा सडकखण्डमा सवारीसाधनको चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीसाधनका लागि आउँदा र जाँदा छुट्टाछुट्टै मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । वैकल्पिक सडकमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै आवागमन सहज बनाउन स्थानीय प्रशासनले यस्तो व्यवस्था लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौं आउँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै यात्रा गर्नुपर्नेछ । त्यसैगरी, काठमाडौंबाट हेटौँडा जाने सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडकखण्ड प्रयोग गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप उल्लेख्य रूपमा बढेको छ । त्यसका कारण वैकल्पिक सडकमा लामो समयसम्म सवारी जाम हुने तथा यात्रुले घण्टौँसम्म बाटोमै रोकिनुपर्ने अवस्था सिर्जना भएको थियो ।
स्थानीय प्रशासनले लागू गरेको नयाँ मार्ग व्यवस्थापनले सवारीसाधनको आवागमनलाई व्यवस्थित गर्नुका साथै वैकल्पिक सडकमा हुने जाम र लामो समयसम्म सवारी रोकिनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।




