काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङसहित दर्जनौँ विश्व नेताहरू साङ्घाई सहयोग संगठन (एससीओ)को वार्षिक शिखर सम्मेलनका लागि सोमबार किर्गिस्तानमा भेला हुँदैछन्।
ऐतिहासिक रूपमा आर्थिक मुद्दामा केन्द्रित रहँदै आएको एससीओलाई राष्ट्रपति पुटिन र सीले पछिल्लो समय बहुध्रुवीय विश्वको आफ्नो दृष्टिकोण अघि सार्ने तथा पश्चिमा राष्ट्रविरुद्ध साझा धारणा प्रस्तुत गर्ने मञ्चका रूपमा उपयोग गर्दै आएका छन्।
यस वर्षको सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी हुने अपेक्षा गरिएको छ। टर्की एससीओको सदस्य भने होइन। किर्गिस्तानको राजधानी बिस्केकमा हुने सम्मेलनका क्रममा इरानी राष्ट्रपति पेजेस्कियनले रुसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
यसअघि जुलाईमा भएको एससीओ विदेशमन्त्री परिषद्को बैठकका क्रममा रुस र इरानका विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो। सन् २०२३ मा एससीओको सदस्य बनेको इरानले रुससँग घनिष्ठ सैन्य सम्बन्ध तथा चीनसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्दै आएको छ।
एससीओका पूर्ण सदस्य राष्ट्र भारत र पाकिस्तानका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। एससीओका अनुसार संगठनका सदस्य राष्ट्रहरूले विश्वको कुल जनसंख्याको करिब ४० प्रतिशत र विश्व अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा ओगट्छन्। यस वर्ष एससीओ स्थापना भएको २५ वर्ष पूरा भएको छ।
यद्यपि, एससीओको स्थापनासम्बन्धी घोषणापत्रमा संगठन ‘अन्य राष्ट्रविरुद्ध लक्षित गठबन्धन नभएको’ उल्लेख गरिएको छ।
तर, पछिल्ला वर्षहरूमा एससीओका बैठकहरूमा भू–राजनीतिक विषयले पनि प्राथमिकता पाउँदै आएका छन्। गत वर्षको बैठकमा राष्ट्रपति पुटिनले युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रहरूको आलोचना गरेका थिए भने राष्ट्रपति सीले अमेरिका–चीन तनावतर्फ संकेत गर्दै ‘धम्कीपूर्ण गतिविधि’को विरोध गरेका थिए।




