काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक यही महिनाभित्र सञ्चालनमा ल्याइने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मुग्लिन–नौबिसे खण्डअन्तर्गत कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडकलाई यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि कृष्णभिरमा पहिरो खसेको थियो। त्यसपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा प्रभावित हुँदै आएको छ।
सडक सञ्चालनमा ल्याउन लामो समय लाग्न सक्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री शाहले पहिरो पन्छाएर तथा सडक पुनर्निर्माण गरी यही महिनाभित्र यातायात सञ्चालन गर्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको ठूलो जनधनको क्षतिबारे समेत जानकारी गराएका थिए।
उनले बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत र पुनर्निर्माणका प्रयासबारे पनि संसद्लाई जानकारी गराएका छन्।




