२०८३ भाद्र २८

भोटेकोशी बाढी : मधेसका ३० जना परिवारको सम्पर्कमा, १६२ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् भने १६२ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार सम्पर्कमा आउनेमा पर्साको वीरगञ्ज महानगरपालिकामा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम तथा स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले जानकारी दिए ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास र सुनिता दास, बागमती नगरपालिका–६ का दिपेश थापा तथा महोत्तरीका जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, विपीनकुमार मण्डल र श्रीकेश यादव पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । महोत्तरीकै लोहारपट्टी गाउँपालिकाका युवराज पाण्डे, औरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिवास नगरपालिकाका विकास भारती पनि सम्पर्कमा आएका छन् ।

धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार तथा जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा र विक्रम ठाकुर पनि टेलिफोन सम्पर्कमा आएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि सम्पर्कमा आएका छन् ।

प्रहरीका अनुसार हालसम्म सप्तरीका ४८, पर्साका ३८, रौतहटका १३, बाराका २३, सर्लाहीका १८, महोत्तरीका १०, धनुषाका ७ तथा सिरहाका १२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरीले उनीहरूको विवरण सङ्कलन सुरु गरेको छ । बाढी तथा पहिरोपछि परिवार र आफन्तको सम्पर्कमा नरहेका व्यक्तिको खोजीमा सहयोग पुर्‍याउन विवरण सङ्कलन तथा प्रमाणीकरणको काम अघि बढाइएको प्रवक्ता ढकालले बताए ।