काठमाडौं । धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिर सडकखण्डमा आज १२ घण्टा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द हुने भएको छ।
भोटेकोशीसहित त्रिशूली नदीमा आएको बाढीले सडकमा क्षति पुर्याएपछि उक्त खण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
यस अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन। आवश्यक मर्मत सम्पन्न भएपछि सडकलाई पुनः दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
यात्रुले आज पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दा समय र वैकल्पिक मार्गको व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।




