काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने विषयमा पटक–पटक अभिव्यक्ति दिइरहेका बेला युरोपेली संघ (ईयू)ले ग्रिनल्यान्डसँगको सम्बन्ध थप बलियो बनाउने घोषणा गरेको छ।
ईयूले ग्रिनल्यान्डका लागि २० करोड युरो (करिब २३ करोड २० लाख अमेरिकी डलर) बराबरको लगानी प्याकेज घोषणा गरेको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार ग्रिनल्यान्डको राजधानी नूकमा आयोजित कार्यक्रममा आगामी दुई वर्षभित्र स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले उक्त लगानी घोषणा गरेकी हुन्।
यसै अवसरमा ईयू, ग्रिनल्यान्ड र डेनमार्कबीच संयुक्त घोषणापत्रमा हस्ताक्षरसमेत भएको छ। घोषणापत्रमा युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयन, ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेन र डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले हस्ताक्षर गरेका छन्।
प्रस्तावित लगानी ग्रिनल्यान्ड सरकारको प्रशासनिक क्षमता सुदृढ गर्न तथा दिगो पर्यटन र आवास निर्माणसम्बन्धी कार्यक्रम अघि बढाउन प्रयोग गरिनेछ। ग्रिनल्यान्डको भविष्य त्यहाँका जनता र डेनमार्कले मात्र निर्धारण गर्ने बताउँदै भोन डेर लेयनले ईयू ग्रिनल्यान्डमा आफ्नो उपस्थिति र सक्रियता अझ बढाउन चाहेको बताइन्।
ईयूले सन् २०२८ देखि २०३४ सम्मको आगामी बजेट अवधिमा ग्रिनल्यान्डलाई प्रदान गर्ने प्रत्यक्ष आर्थिक सहयोग दोब्बर बनाउने प्रस्तावसमेत अघि सारेको छ। प्रस्तावअनुसार प्रत्यक्ष आर्थिक सहयोग ५३ करोड युरो (करिब ६१ करोड ६० लाख अमेरिकी डलर) पुर्याउने योजना छ।
प्राकृतिक स्रोतले सम्पन्न ग्रिनल्यान्ड रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रमा अवस्थित छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रण बढाउनुपर्ने बताउँदै आएका छन्। उनका यस्ता अभिव्यक्तिले ग्रिनल्यान्ड र डेनमार्कसँगै नेटोका अन्य साझेदार राष्ट्रसँग पनि तनाव बढाएको छ।




