काठमाडौँ । मधेस प्रदेश र मिथिलाञ्चल क्षेत्रमा आज लोकसांस्कृतिक पर्व चौठ चन्द्र (चौरचन) परम्परागत श्रद्धा र हर्षोल्लासपूर्वक मनाइँदै छ। भाद्र शुक्ल चतुर्थीका अवसरमा चन्द्रमाको प्रत्यक्ष आराधना गरी मनाइने यस पर्वलाई मिथिला संस्कृतिमा भ्रातृत्व, सद्भाव र प्रकृतिपूजनको विशिष्ट आधार मानिन्छ।
यस दिन व्रतालु महिलाहरू दिनभर निराहार रही शुद्धताका साथ पूजाका लागि विशेष परिकारहरू तयार पार्छन्। चौरचनका लागि खिर, पुरी, ठेकुवा, भुजिया तथा विविध मिष्ठान्नका साथै माटोको नयाँ भाँडो (मटका) मा जमाइएको दही मुख्य प्रसादका रूपमा प्रयोग गरिन्छ। साँझपख घरको आँगन वा छतलाई गोबर र रातो माटोले लिपेर चामलको पिठो (पिठार) ले कलात्मक अरिपन (रेखाचित्र) बनाइन्छ।
चन्द्र अर्चन र पूजा विधि
सञ्झापख चन्द्रमाको उदय भएपछि अरिपन गरिएको स्थानमा विभिन्न ऋतुफल (केरा, स्याउ, काँक्रो, नीम्बू) र मिष्ठान्न राखी हातमा प्रसाद लिएर चन्द्रमालाई अञ्जुलीबाट अघ्र्य अर्पण गर्ने विधि छ। अघ्र्य समापन भएपछि मात्रै परिवारजन र व्रतालुहरूले सामूहिक रूपमा प्रसाद ग्रहण गर्ने परम्परा छ।
मिथिलाञ्चलमा गणेश चतुर्थीकै तिथि परे पनि गणेशपूजाभन्दा चन्द्रमाको प्रत्यक्ष अर्चनलाई बढी महत्त्व दिइन्छ। लोकविश्वासअनुसार भदौ शुक्ल चतुर्थीको चन्द्रदर्शन गर्दा कलंक वा झुटो आरोप लाग्न सक्ने भय रहने भएकाले त्यसबाट जोगिन खाली हात नभई हातमा फलफूल र पकवान राखेर दर्शन गर्ने चलन स्थापित भएको हो। आज साँझ मधेसका सहर तथा ग्रामीण क्षेत्रका प्रांगण र छतहरू लोकगीतको मधुर गुञ्जन र धार्मिक अनुष्ठानले संगीतमय बनेका छन्।



