२०८३ आश्विन २

काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर

काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर नियुक्त भएका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले डा. कुँवरलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी सोही संस्थानको सहायक डिनका रूपमा कार्यरत थिए।

चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय डा. कुँवरले काठमाडौं विश्वविद्यालय र चिकित्सा विज्ञान अध्ययन संस्थानमा विभिन्न शैक्षिक तथा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका छन्। उनी संस्थानको प्राध्यापक परिषद्का संस्थापक सचिव तथा निवर्तमान अध्यक्षसमेत हुन्।

यसअघि डिनको जिम्मेवारी प्रा.डा. मनोज हुमागाईंले सम्हाल्दै आएका थिए। अब संस्थानको नेतृत्व डा. कुँवरले गर्नेछन्।

नयाँ जिम्मेवारीसँगै डा. कुँवरले चिकित्सा शिक्षाको गुणस्तर सुधार, अनुसन्धानलाई प्राथमिकता र विद्यार्थीको व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउने विषयलाई आफ्नो कार्यदिशाको आधार बनाउने बताएका छन्।

चिकित्सा शिक्षा कक्षाकोठामा हुने सैद्धान्तिक अध्यापनमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रयोगात्मक अभ्यास र आधुनिक प्रविधिलाई शिक्षण प्रणालीसँग जोड्नुपर्ने बताए। विद्यार्थीले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

त्यसैगरी, विश्वविद्यालयअन्तर्गतका शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई पर्याप्त प्रयोगात्मक अभ्यासको अवसर उपलब्ध गराउने विषयलाई पनि नयाँ नेतृत्वका लागि महत्वपूर्ण कार्यभारका रूपमा हेरिएको छ।

चिकित्सा शिक्षा र अनुसन्धानबीचको सम्बन्धलाई बलियो बनाउने, अनुसन्धानका नयाँ क्षेत्र पहिचान गर्ने तथा स्वास्थ्य सेवासँग शिक्षण प्रणालीलाई थप जोड्ने चुनौती पनि डा. कुँवरसामु रहनेछ।

चिकित्सा विज्ञान अध्ययन संस्थानले नेपालका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादनमा भूमिका निर्वाह गर्दै आएको छ। यस्तो अवस्थामा नयाँ नेतृत्वका लागि संस्थानको शैक्षिक गुणस्तर कायम राख्दै बदलिँदो चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको आवश्यकताअनुसार अध्ययन, अनुसन्धान तथा व्यवहारिक शिक्षालाई अघि बढाउनु प्रमुख जिम्मेवारी हुनेछ।