काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू तथा आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्।
जबराका छोरा सचिन्द्र शमशेर जबराले आइतबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन बुझाउँदै सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
निवेदनमा मुलुकको पछिल्लो परिस्थिति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेका सुरक्षा चुनौतीसँग सम्बन्धित विषयका कारण आफ्नो र परिवारका सदस्यको सुरक्षाप्रति चिन्ता बढेको उल्लेख गरिएको छ।
जबराले विगतमा राज्यका विभिन्न निकायमा निर्वाह गरेको जिम्मेवारी तथा प्रधानन्यायाधीशका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूले थप सुरक्षा जोखिम महसुस गरेको निवेदनमा जनाइएको छ।
पछिल्लो समय प्रहरी कार्यालयबाट समेत केही विषयमा जानकारी प्राप्त भएपछि थप सतर्कता आवश्यक देखिएको भन्दै उनले आफ्नो सुरक्षा व्यवस्थाका लागि आवश्यक पहल गर्न प्रहरीसँग माग गरेका छन्।
निवेदनमा राज्यका सुरक्षा निकायलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरणबारे जानकारी रहेको उल्लेख गर्दै निवास, परिवारका सदस्य र आफ्नो जिउज्यानको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षाको माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्।
यसअघि शनिबार राति जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘सुरक्षा थ्रेट’ सम्बन्धी सूचना प्राप्त भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मध्यरातमा नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार दिउँसो प्रहरीले छाडेको थियो।





