२०८३ कार्तिक ७

चितवनमा असोज २३ देखि जंगल सफारी खुलाउने तयारी

काठमाडौं । वर्षायामका कारण बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी आगामी असोज २३ गते शुक्रबारदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। निकुञ्जले जिप सफारीका लागि आवश्यक रुट मर्मत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ।

निकुञ्जले गत असार १७ गतेदेखि जिप सफारी बन्द गरेको थियो। वर्षाका कारण आएको भलबाढीले विभिन्न सफारी रुटमा क्षति पुर्‍याएपछि बाटो मर्मत, ढलेका रुख हटाउने तथा सफारी मार्ग व्यवस्थित गर्ने काम भइरहेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार असोजको दोस्रो साताबाटै सफारी सञ्चालन गर्ने योजना थियो। तर, त्यसै समयमा आएको ठूलो वर्षापछि निकुञ्जभित्रका खोल्सा तथा खोलामा आएको बाढीले रुटमा थप क्षति पुर्‍याएपछि सञ्चालन मिति पर धकेलिएको हो।

“असोजको दोस्रो साताबाट नै जिप सफारी सञ्चालन गर्ने तयारी थियो। तर त्यही समयमा ठूलो पानी परेका कारण निकुञ्जभित्रका विभिन्न खोल्सा तथा खोलामा आएको बाढीले रुटहरू बिगारेको छ। त्यसलाई बनाउँदै छौं,” थापामगरले भने।

उनका अनुसार असोज २३ गतेदेखि सफारी सञ्चालन गर्ने लक्ष्यसहित अहिले मर्मतको काम भइरहेको छ। काम समयमै सम्पन्न भएमा उक्त मितिबाट पर्यटकका लागि जिप सफारी खुला गरिनेछ।