काठमाडौं । मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा स्तरोन्नति गर्न चीनले नेपालसँग प्रस्ताव अघि बढाएको छ। यसअघि नेपालले पहल गर्दै आए पनि चिनियाँ पक्षबाट खासै चासो नदेखाइएको कोरला नाकाबारे पछिल्लो समय चीन स्वयं सकारात्मक देखिएको हो।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार चीनले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाललाई सहयोग गर्न सकिने संकेतसमेत दिएको छ। अन्तर्राष्ट्रिय नाका बनेपछि नेपालसँगै अन्य मुलुकका नागरिकले पनि कोरला हुँदै चीन प्रवेश गर्न सक्नेछन्।
चीनले कोरला नाकालाई कैलाश मानसरोवर र ल्हासा जाने यात्रुका लागि वैकल्पिक स्थलमार्गका रूपमा विकास गर्न खोजेको बताइएको छ। हाल यात्रु आवतजावतका लागि प्रयोग हुँदै आएका तातोपानी र रसुवागढी नाका बन्द रहेकाले पनि कोरला सञ्चालनमा चिनियाँ चासो बढेको हो।
यसै क्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोलीले कोरला नाकाको स्थलगत अवलोकन गरेको छ। टोलीले नाकामा रहेका पूर्वाधार तथा काठमाडौं–कोरला सडकको अवस्थाबारे जानकारी लिएको थियो।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ टोलीलाई जिल्लाको सडक तथा पूर्वाधारको अवस्थाबारे जानकारी दिइएको थियो। बाढीपहिरोका कारण मुस्ताङ–म्याग्दी सडक सम्पर्क प्रभावित भएको विषयसमेत टोलीलाई अवगत गराइएको उनले बताइन्।
कोरला नाकाको स्तरोन्नतिबारे औपचारिक निर्णय भने कूटनीतिक माध्यमबाट हुने बताइएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु शेर्पाले नाका व्यवस्थित गर्न नेपालले पूर्वाधार विकासमा थप पहल गर्नुपर्ने बताएका छन्।
कोरला नाका २०८० कात्तिक २७ गते औपचारिक रूपमा खुलेको थियो। करिब ४ हजार ६ सय ५० मिटरको उचाइमा रहेको यो नाका पछिल्लो समय सीमित रूपमा व्यापारिक गतिविधिमा प्रयोग हुँदै आएको छ।
यसबीच नेपालले तातोपानी नाका पनि तत्काल सञ्चालन गर्न चीनसँग आग्रह गरिरहेको छ। महावाणिज्यदूत निरौलाका अनुसार तातोपानी नाका दशैंअघि नै खुल्न सक्ने सम्भावना छ।




