२०८३ कार्तिक १०

यी चर्चित खेलाडीले गर्दैछन् विश्वकप फुटबलमा डेभ्यु

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२६ नजिकिदै गर्दा सबै चासो अब फुटबलको यस महाकुम्भतर्फ भएको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको यो संस्करण अहिलेसम्मकै ठूलो मानिएको छ । यसपटक ४८ टोली सहभागी हुँदैछन्, जसले गर्दा पहिलो पटक धेरै नयाँ र चर्चित खेलाडीहरू विश्व मञ्चमा देखिन लागेका छन् ।

लामो समयदेखि प्रतीक्षा गरिरहेका केही खेलाडी उमेर वा चोटका कारण पहिलेका विश्वकप गुमाएका थिए भने केही आफ्नो देशले छनोट नपाउँदा बाहिर थिए । अब उनीहरू पहिलो पटक विश्वकपको दबाब र चमकबीच मैदानमा उत्रिँदैछन् ।

इर्लिङ हालान्ड (नर्वे)

नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । टोलीमा मार्टिन ओडेगार्ड, एन्टोनियो नुसा र अलेक्जेन्डर सर्लोथजस्ता नाम भए पनि सबैभन्दा ठूलो आकर्षण स्ट्राइकर इर्लिङ हालान्ड रहनेछन् । हालान्डको अन्तर्राष्ट्रिय रेकर्ड निकै रोचक छ, ४९ खेलमा ५५ गोल । तर यो उनको पहिलो विश्वकप मात्र होइन, अहिलेसम्म कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नखेलेको पनि पहिलो अवसर हो । नर्वे समूह चरणमा इराक, सेनेगल र फ्रान्ससँग खेल्नेछ। विशेषगरी फ्रान्ससँगको खेलमा उनीमाथि ठूलो नजर रहनेछ ।

लामिन यमल (स्पेन)

१८ वर्षका यामल अहिले स्पेनको भविष्य मात्र होइन, वर्तमानका पनि निर्णायक खेलाडी बनिसकेका छन् । बार्सिलोनाबाट १५ वर्षमै डेब्यु गरेर चर्चामा आएका उनले युरो २०२४ मा स्पेनलाई उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको शानदार गोल र निर्णायक पासहरूले उनलाई विश्व फुटबलको केन्द्रमा ल्याएको थियो । अब विश्वकपमा पनि स्पेनको मुख्य आक्रमण यिनै युवा खेलाडीमा निर्भर रहनेछ ।

फ्लोरियन भिर्ट्ज (जर्मनी)

लिभरपुलले भारी रकममा अनुबन्ध गरेका भिर्ट्ज जर्मनीको आक्रमणको मुख्य मस्तिष्क हुन् । चोटका कारण उनले सन् २०२२ विश्वकप गुमाएका थिए । युरो २०२४ मा उनले दुई गोल गर्दै आफ्नो क्षमता देखाइसकेका छन् । अहिले उनी जर्मनीका लागि खेल सिर्जना गर्ने मुख्य खेलाडी मानिन्छन् । जामाल मुसियालासँगको उनको जोडीले जर्मनीको आक्रमणलाई नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ ।

लुइस डियाज (कोलम्बिया)

२९ वर्षका डियाजले पहिलो पटक विश्वकप खेल्दैछन् । अचम्मको कुरा के हो भने यति अनुभवी खेलाडीले अहिलेसम्म विश्वकप खेल्न पाएनन्, किनभने कोलम्बिया सन् २०२२ मा छनोट हुन सकेको थिएन । लिभरपुल र बायर्न म्युनिख दुवै क्लबमा उनले उच्च स्तरको प्रदर्शन गरिसकेका छन् । पछिल्लो सिजन उनले २६ गोल र १९ असिस्ट गरेका थिए । यदि उनले यही लय कायम राखे भने कोलम्बियालाई गहिरो चरणसम्म पुर्‍याउने प्रमुख आधार बन्न सक्छन् ।

माइकल ओलिस (फ्रान्स)

बायर्न म्युनिखका ओलिसे पछिल्लो सिजन युरोपको सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बने । २५ गोल र २८ असिस्टसहित उनले आफ्नो नाम विश्व फुटबलको शीर्ष सूचीमा लेखाइसकेका छन् । फ्रान्स टोलीमा उनी अब पहिलो रोजाइको हिस्सा बन्ने सम्भावना बलियो छ । डिजिरे डुएजस्ता प्रतिभालाई समेत पछि पार्दै उनले आफ्नो स्थान मजबुत बनाएका छन् ।

जोआओ नेभेस (पोर्चुगल)

२१ वर्षमै युरोपका उत्कृष्ट मिडफिल्डरमध्ये एक बनेका नेभेस पिएसजीसँग दुई पटक च्याम्पियन्स लिग जितिसकेका छन् । पोर्चुगल टोलीमा धेरै मिडफिल्ड विकल्प भए पनि उनले आफ्नो मेहनत र लगातार प्रदर्शनबाट स्थान बनाइरहेका छन् । कहिलेकाहीँ राइट ब्याकमा पनि खेल्न बाध्य भए पनि अब उनी मिडफिल्डमा पूर्ण रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

निको पास (अर्जेन्टिना)

अर्जेन्टिनाका लागि नयाँ र महत्वपूर्ण नाम बनेका निको पास अहिले युरोपमा सबैभन्दा खोजिने प्लेमेकरमध्ये एक हुन् । कोमो क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै उनले इटालियन लिगमा उत्कृष्ट मिडफिल्डरको उपाधि समेत जितेका छन् । रियल मड्रिडले उनलाई पुनः फर्काउने तयारी गरिरहेको छ । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउने योजनामा उनी महत्त्वपूर्ण हिस्सा बन्न सक्छन् ।

फोलारिन बालोगुन (संयुक्त राज्य अमेरिका)

अमेरिकाको आक्रमणमा लामो समयदेखि समस्या रहँदै आएको थियो । त्यही खाली ठाउँ पूरा गर्न बालोगुनलाई मुख्य आशा मानिएको छ । मोनााकोबाट खेल्ने उनले यस सिजन १९ गोल गरेका छन् र लगातार गोल गर्ने क्षमताका कारण चर्चामा छन् । इंग्ल्यान्डबाट राष्ट्रियता परिवर्तन गरेर अमेरिकी टोलीमा आएका उनले कोपा अमेरिकामा पनि आफ्नो क्षमता देखाइसकेका छन् ।

आर्दा ग्युलर (टर्की)

रियल मड्रिडका २१ वर्षीय ग्युलर टर्कीका लागि सबैभन्दा ठूलो आशा हुन्। युरो २०२४ मा उनले गोल, असिस्ट र सिर्जनात्मक खेलबाट सबैको ध्यान तानेका थिए । क्लब स्तरमा उनले किलियन एमबाप्पेसँग राम्रो समझदारी बनाउँदै १६ असिस्ट र ७ गोल गरेका छन्। टर्कीको आक्रमण यिनै युवा खेलाडीको वरिपरि घुम्नेछ ।

यान डियोमान्डे (आइभोरी कोस्ट)

१९ वर्षका डियोमान्डे अहिले युरोपका सबैभन्दा चर्को रूपमा हेरिएका युवा विङ्गर हुन् । लिभरपुल र पिएसजीले उनलाई पछ्याइरहेका छन् । अफ्रिका कप अफ नेसन्समा राम्रो प्रदर्शन गरेका उनी अब विश्वकपमा आफ्नो क्षमता प्रमाणित गर्न तयार छन् । गति, ड्रिब्लिङ र आक्रमणमा उनको प्रभाव टोलीका लागि निर्णायक हुन सक्छ । 

Read More

ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

काठमाडौं । फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गरेका थिए । उनले खेलको ४३औं, ४९औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि प्याट्रिक केलीले एक गोल फर्काएका थिए । 

विश्वकपमा समुह आई मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल अब जुन १७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ ।  त्यस्तै फ्रान्सले जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका रहेको छ । 

Read More

हङकङलाई हराउदै नेपालले जित्यो नेपालले एशियन गेम्स छनौटको उपाधि

काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो  । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

यस प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।

Read More

डेभ्यु खेलमा भारतीय बलर मानवले लिए ६ विकेट, अफगानिस्तान फलोअनमा

काठमाडौँ । भारतविरुद्ध टेस्ट खेलमा अफगानिस्तान फलोअनमा परेको छ । जारी टेस्टको पहिलो इनिंगमा १५२ रनमा अलआउट भएसँगै अफगानिस्तान  ४१२ रनले पछि परेपछि फलोअनमा परेको हो ।

पहिलो इनिंगमा अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले ६ विकेट लिए भने प्रसिद्ध कृष्णले ३ र वाशिंटन सुन्दरले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए ।   

Read More

मैदानमा फेरी ढले एरिक्सन

काठमाडौँ । डेनमार्कका चर्चित फुटबल खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै फेरि एकपटक ढलेका छन् । युरो कप २०२१ मा हृदयाघातका कारण मैदानमा ढलेको झण्डै पाँच वर्षपछि उनी पुनः खेलका क्रममा बेहोस भएका हुन् ।

गएराती युक्रेनविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको ६५औँ मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा लडेका थिए । उनी ढल्नासाथ चिकित्सक टोली मैदानमा पुगेको थियो। उपचारपछि उनी आफैँ हिँडेर एम्बुलेन्ससम्म पुगेका थिए ।

डेनमार्क फुटबल संघले टोलीका चिकित्सक मोर्टेन बोएसेनको भनाइ उद्धृत गर्दै एरिक्सनको अवस्था स्थिर रहेको जनाएको छ । चिकित्सक बोएसेनका अनुसार एरिक्सेन केही समयका लागि बेहोस भए पनि छिट्टै होसमा आएका थिए । उनको शरीरमा जडान गरिएको मुटुको विद्युतीय उपकरणले अपेक्षाअनुसार काम गरेको प्रारम्भिक रूपमा देखिएको छ ।

घटनापछि उनलाई ओडेन्से विश्वविद्यालय अस्पतालमा थप परीक्षणका लागि भर्ना गरिएको छ । चिकित्सकहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

सन् २०२१ जुन १२ मा फिनल्यान्डविरुद्धको युरो कप खेलका क्रममा एरिक्सनलाई मैदानमै हृदयाघात भएको थियो । त्यसबेला चिकित्सकहरूले तत्काल उद्धार गर्दै उनको ज्यान बचाएका थिए । पछि एरिक्सनले आफू करिब पाँच मिनेटसम्म मृत अवस्थाजस्तै रहेको बताएका थिए । त्यस घटनापछि उनको शरीरमा मुटुको धड्कन नियन्त्रण गर्ने विशेष विद्युतीय उपकरण जडान गरिएको थियो । चिकित्सकहरूको अनुमति पाएपछि उनले पुनः व्यावसायिक फुटबल खेल्न थालेका थिए ।

आइतबारको खेलमा प्रसारण गरिएका दृश्यहरूमा एरिक्सनले छाती समातेपछि मैदानमा ढलेको देखिएको थियो । उपचारका क्रममा टोलीका खेलाडीहरूले उनको वरिपरि घेरा बनाएर गोपनीयता कायम गरेका थिए । एरिक्सनलाई मैदानबाहिर लगिएपछि डेनमार्क र युक्रेनका खेलाडीहरूले एकअर्काको हात समातेर ऐक्यबद्धता प्रदर्शन गरेका थिए । घटनापछि खेल तत्काल स्थगित गरिएको थियो र पछि रद्द गरिएको घोषणा गरियो ।

अस्पतालमा रहेका एरिक्सनले आफू ठीक रहेको सन्देश टोलीका खेलाडीहरूलाई पठाएको चिकित्सक बोएसेनले बताएका छन् । उनका अनुसार एरिक्सन निरन्तर चिकित्सकीय निगरानीमा रहेका छन् र थप परीक्षणको नतिजा पर्खिरहेक छन् ।

Read More

मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हुने भएको छ । पहिलो पटक ४८ टोली सहभागी हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । तर यो विश्वकप केवल नयाँ ढाँचाका कारण मात्र होइन, पछिल्ला करिब दुई दशकदेखि विश्व फुटबलमा राज गर्दै आएका धेरै महान् खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप पनि बन्ने देखिएको छ ।

धेरै दिग्गज खेलाडीहरूका लागि यो अन्तिम ठूलो अवसर हुन सक्छ, जहाँ उनीहरू विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जितेर अन्तर्राष्ट्रिय करियरलाई सम्मानजनक बिदाइ दिन चाहन्छन् । विश्वकप २०२६ ले नयाँ च्याम्पियन मात्र होइन, आधुनिक फुटबलका धेरै महान् खेलाडीहरूको अन्तर्राष्ट्रिय यात्राको अन्त्य पनि गर्न सक्छ। मेसी, रोनाल्डो, मोड्रिच, नेइमार, सलाहलगायतका खेलाडीहरूका लागि यो विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा अन्तिम पटक चम्किने अवसर हुनेछ ।

लियोनेल मेसी – छैटौं विश्वकपको ऐतिहासिक यात्रा

अर्जेन्टिनाका लियोनेल मेसी ३९ वर्षको उमेरमा आफ्नो छैटौं विश्वकप खेल्ने तयारीमा छन् । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताइसकेका उनले आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरिसकेका छन् । हाल उनी अमेरिकी क्लब इन्टर मियामीमा खेलिरहेका छन् । उमेर बढ्दै गए पनि अर्जेन्टिनाका लागि उनको प्रभाव अझै पनि निर्णायक रहेको छ । उत्तर अमेरिकाको गर्मी र लामो प्रतियोगिता चुनौतीपूर्ण भए पनि उनी अन्तिम पटक चम्किन सक्ने अनुमान गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो – अन्तिम विश्वकपको सपना

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा छन् । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले क्लब तहमा सबै उपलब्धि हासिल गरे पनि विश्वकप जित्न सकेका छैनन् । हाल उनी साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका छन् । यो विश्वकप उनको छैटौं सहभागिता हुने छ र पोर्चुगलले उपाधि जितेमा उनको करियर पूर्ण हुने विश्वास गरिएको छ ।

गिलर्मो ओचोआ – छैटौं विश्वकपको कीर्तिमान

मेक्सिकोका अनुभवी गोलरक्षक गिलर्मो ओचोआ पनि छैटौं विश्वकप खेल्ने तयारीमा छन् । ४० वर्षको उमेरमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका छन् । विश्वकपपछि उनले अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने संकेत दिइसकेका छन् ।

मानुएल नोयर – पुनरागमन

जर्मनीका मानुएल नोयरले पहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर प्रशिक्षक जुलियन नागेल्समानले उनलाई पुनः टोलीमा बोलाएका छन् । ४० वर्षका नोयरका लागि यो पाँचौं विश्वकप हुनेछ ।

लुका मोड्रिच – अन्तिम अध्याय

क्रोएसियाका लुका मोड्रिच २०१८ मा टोलीलाई विश्वकप फाइनलसम्म पुर्‍याउने प्रमुख खेलाडी थिए । ४० वर्ष पुगिसकेका उनी पाँचौं विश्वकप खेल्ने तयारीमा छन् । उनको पनि यो विश्वकप अन्तिम विश्वकप हुने छ ।  

एडिन जेको – करियरको अन्तिम ठूलो मञ्च

बोस्निया तथा हर्जगोभिनाका एडिन जेको ४० वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा छन् । लामो समयपछि टोली विश्वकपमा पुगेको छ । यो प्रतियोगिता उनको अन्तिम ठूलो अन्तर्राष्ट्रिय मञ्च बन्न सक्छ ।

सोन ह्युङ मिन – दक्षिण कोरियाको नेतृत्व

दक्षिण कोरियाका कप्तान सोन ह्युङ मिन ३४ वर्ष पुग्दै छन् । उनी देशका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।

मोहम्मद सलाह – अधुरो सपना

इजिप्टका कप्तान मोहम्मद सलाहले क्लब स्तरमा ठूलो सफलता पाए पनि विश्वकपमा आफ्नो पूर्ण प्रभाव देखाउन सकेका छैनन् । सन् २०२६ उनको अन्तिम विश्वकप हुने सम्भावना बलियो छ ।

साडियो माने र रियाद महरेज– अफ्रिकाका अनुभवी तारा

सेनेगलका साडियो माने र अल्जेरियाका रियाद महरेज दुवै करियरको अन्तिम चरणमा छन्। दुवैका लागि यो विश्वकप अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्न सक्छ ।

केभिन डे ब्रुयने – अन्तिम चुनौती

बेल्जियमका केभिन डे ब्रुयने चोटका समस्याबीच पनि टोलीका मुख्य खेलाडी छन् । ३५ वर्ष नजिक पुगेका उनी बेल्जियमको स्वर्णिम पुस्ताका अन्तिम प्रमुख सदस्यमध्ये एक हुन् र उनको पनि यो विश्वकप अन्तिम हुने बताइएको छ ।

भिर्जिल भान डाइक – नेदरल्यान्ड्सको नेतृत्व

३५ वर्षका भिर्जिल भान डाइक नेदरल्यान्ड्सको रक्षापंक्तिको नेतृत्व गर्नेछन् । यो उनको दोस्रो र सम्भवतः अन्तिम विश्वकप हुन सक्छ ।

जेम्स रोड्रिगेज – अन्तिम ठूलो अवसर

कोलम्बियाका जेम्स रोड्रिगेज २०१४ विश्वकपका चम्किला खेलाडी थिए । उनका लागि यो प्रतियोगिता करियरको अन्तिम ठूलो मञ्च हुन सक्छ ।

नेइमार – अन्तिम मौका

ब्राजिलका नेइमार लामो समय चोटका कारण मैदानबाहिर रहेका थिए । प्रशिक्षक कार्लो एन्जेलोटीले उनलाई अन्तिम समयमा टोलीमा समावेश गरेका छन् । ३४ वर्षीय नेइमारका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ, जहाँ ब्राजिललाई छैटौं उपाधि दिलाउने लक्ष्य रहनेछ । यद्यपी विश्वकप अघि उनी घाइते भएका कारण उनले विश्वकपमा कति खेल्न सक्छन भन्ने अझै स्पष्ट भएको छैन । 

ह्यारी केन – भविष्य अनिश्चित

इङ्ग्ल्यान्डका ह्यारी केन अझै ३२ वर्षका छन् र उनी भविष्यसम्म खेल्न सक्ने अवस्थामा छन् । तर सन् २०२६ उनको अन्तिम विश्वकप हुनेछ वा होइन भन्ने स्पष्ट छैन । आफ्नो क्यारियरकै उच्च फर्ममा रहेका केनले आफुलाई यसरीनै खेल्न जारी राखेमा उनी अर्को विश्वकप खेल्न सक्ने देखिन्छ ।

Read More

एशियन गेम्सको छनौटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ । सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्ने भएका छन् ।

फाइनल खेल आज नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुदैछ । 

आज भएका सेमिफाइनलमा विजयी भएसँगै नेपाल र हङकङ फाइनलमा भिड्ने भएका हुन् । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्यस्तै आज सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि खेल्दैछन् । तेस्रो स्थानको खेल विहान सवा ७ बजे हुने छ ।

सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।  

Read More

वैभवीलाई सिक्किममा स्वर्णसहित दुई पदक

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतीय खेलाडीलाई फाइनलमा हराउँदै क्योरुगी विधातर्फ स्वर्ण पदक जितेकी छिन् । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२६ मा नेपालको लागि वैभवीले स्वर्ण र कास्य गरी दुई पदक जित्न सफल भएकी हुन् ।

भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा भएको उक्त  प्रतियोगितामा वैभवीले भारतीय खेलाडीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा शानदार जीत हासिल गरेकी हुन् । 

वैभवीले पुम्से विधातर्फ पनि तेस्रो हुँदै कास्य पदक जितेकी छिन् । १९ जना प्रतिष्पर्धी रहेको सो विधामा वैभवीले कास्य पदक जितेकी हुन् ।

सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गरेको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गरेकी थिइन् ।

जेठ २३ देखि शुरु भएको उक्त प्रतियोगितामा भारतका १० भन्दा बढी राज्यका खेलाडीलगायत विभिन्न देशका खेलाडीको सहभागिता रहको थियो ।

Read More

विश्वकपका लागि इरानका सहयोगी कर्मचारी र अधिकारीले अझै पाएनन् अमेरिकी भिसा

काठमाडौँ । इरान र इजरायलबीच तनाव जारी रहेकै बेला इरानी राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् । तर टोलीका केही सहयोगी कर्मचारी र अधिकारीहरूले भने अझै अमेरिकी भिसा नपाएको भन्दै इरानले अमेरिकामाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार फुटबल महासंघका महासचिव हेदायत मोम्बेनी, उपाध्यक्ष मेहदी मोहम्मद नबीसहित १४ जना अधिकारी तथा सहयोगी कर्मचारी अझै भिसाको प्रतीक्षामा छन् ।

इरानी फुटबल महासंघले यस अवस्थाले टोलीलाई समान अवसर नदिएको दाबी गर्दै यो विषय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष उठाउने जनाएको छ ।

यता अमेरिकी अधिकारीहरूले भने सबै खेलाडी, प्रशिक्षक, प्रशिक्षण टोलीका सदस्य तथा केही सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको बताएका छन् । तर केही आवेदनहरू भने स्वीकृत नभएको उनीहरूको भनाइ छ ।

इरानी टोली हाल टर्कीको अन्ताल्या क्षेत्रमा प्रशिक्षण गरिरहेको छ । त्यहाँबाट टोली मेक्सिको जाने तयारीमा रहेको बताइएको छ ।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। पहिलो पटक तीन देशको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् ।

इरान समुह जी मा बेल्जियम, इजिप्ट र न्यूजील्याण्डसँग रहेको छ । इरानले विश्वकपमा पहिलो खेल जुन १५ मा न्यूजील्याण्डसँग खेल्दैछ भने दोस्रो खेल जुन २१ मा बेल्जियमसँग र तेस्रो खेल इजिप्टसँग जुन २६ मा खेल्ने तालिका छन् ।

Read More

६ खेलाडीको ज्यान गएको सिस्नेरी घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन, २१ दिनको म्याद

काठमाडौँ । मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ जना युवा खेलाडीको ज्यान गएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समिति गठन गरेको छ।

राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा प्रशासन, कानुन तथा योजना शाखाका प्रतिनिधिहरू र शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। भोलिदेखि नै काम सुरु गर्ने तयारी गरिएको जनाइएको छ।

गत २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोले वात्सल्यदेवी विद्यालयस्थित एन्फा सिस्नेरी एकेडेमीका ६ जना किशोर खेलाडीको ज्यान गएको थियो।

घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको मृत्यु भएको थियो।

परिवारहरूले एन्फाको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका थिए। सोही मागपछि मन्त्रालयको निर्देशनमा राखेपले समिति गठन गरेको हो।

Read More