२०८३ कार्तिक १०

कप्तान परिवर्तनदेखि सुर्यबंशीको इन्ट्रीसम्म, भारतको टी–२० टिममा ठूलो परिवर्तन हुदै

काठमाडौँ । भारतको टी–२० अन्तर्राष्ट्रिय टोलीमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । राष्ट्रिय छनोटकर्ताले सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक र सोही वर्ष अस्ट्रेलिया तथा न्युजील्यान्डमा आयोजना हुने टी–२० विश्वकपलाई लक्षित गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तान बनाउने तयारी गरेका छन् भने १५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको टी–२० टोली शनिबार घोषणा हुने कार्यक्रम छ । मार्चमा सम्पन्न टी–२० विश्वकपमा सूर्यकुमार यादवको कप्तानीमा भारतले उपाधि जितेपछि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

यद्यपि ३५ वर्षीय सूर्यकुमार भने टोलीबाटै बाहिरिन सक्ने अवस्था रहेको बताइएको छ । सन् २०२६ को टी–२० विश्वकपमा उनले नौ इनिङ्समा २४२ रन मात्र बनाए। उनको स्ट्राइक रेट १३६.७२ रहेको थियो। त्यसपछि सम्पन्न इन्डियन प्रिमियर लिग २०२६ मा पनि उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । उनले १३ इनिङ्समा २७० रन मात्र बनाए, जहाँ उनको औसत २०.७६ र स्ट्राइक रेट १४७.५४ रह्यो ।

३१ वर्षीय श्रेयसले भने डिसेम्बर २०२३ यता भारतका लागि कुनै टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । टोली संयोजनका कारण सूर्यकुमार यादव र तिलक वर्माले मध्यक्रमको स्थान ओगटेपछि श्रेयसलाई अवसर मिल्न सकेको थिएन । उनलाई यस वर्ष जनवरीमा न्युजील्यान्डविरुद्धको घरेलु सिरिजका लागि चोटग्रस्त खेलाडीको विकल्पका रूपमा टोलीमा बोलाइएको थियो । तर त्यसपछिको टी–२० विश्वकपलाई ध्यानमा राख्दै भारतले अन्य खेलाडीलाई प्राथमिकता दिएपछि उनले खेल्ने अवसर पाएनन् ।

यद्यपि कप्तानका रूपमा श्रेयसको रेकर्ड प्रभावशाली छ । उनले सन् २०२४ मा आइपिएलमा कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिगको उपाधि दिलाएका थिए । साथै उनले दिल्ली क्यापिटल्सलाई २०२० मा र पञ्जाब किङ्सलाई २०२५ मा प्रतियोगिताको फाइनलसम्म पुर्‍याएका थिए ।

ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । इन्डियन प्रिमियर लिग २०२५ मा उनले ६०४ रन बनाएका थिए, जहाँ उनको स्ट्राइक रेट १७५.०७ थियो। त्यसपछि २०२६ संस्करणमा उनले ४९८ रन बनाउँदै १६८.८१ को स्ट्राइक रेट कायम गरेका थिए ।

लगातार दोस्रो वर्ष भारतीय छनोटकर्ताले कप्तानीमा यस्तो परिवर्तन गर्न लागेका हुन् । सन् २०२५ मा रोहित शर्माले भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । तर त्यसपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजअघि उनलाई कप्तानीबाट हटाइएको थियो । यद्यपि रोहित टोलीमा भने कायम रहेका थिए ।

यता १५ वर्षीय वैभव सूर्यवंशी भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडीमध्ये एक बन्ने तयारीमा छन् । सन् १९८० को दशकको अन्त्यमा सचिन तेन्दुलकरले राष्ट्रिय टोलीमा स्थान बनाएयता यति कम उमेरमा टोलीमा छनोट हुने खेलाडी विरलै देखिएका छन् । सूर्यवंशीले इन्डियन प्रिमियर लिग २०२६ मा विस्फोटक प्रदर्शन गर्दै ७७६ रन बनाएका थिए। उनको स्ट्राइक रेट २३७.३० रहेको थियो । उनी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणअघि उनले जुन ९ देखि २१ सम्म श्रीलङ्कामा आयोजना हुने त्रिकोणात्मक सिरिजमा भारत ‘ए’ टोलीबाट खेल्नेछन् । उक्त प्रतियोगितामा अफगानिस्तान पनि सहभागी हुनेछ ।

भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डविरुद्ध दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसपछि जुलाई १ देखि ११ सम्म इङ्ग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

Read More

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

काठमाडौँ । फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । साविक विजेता अर्जेन्टिना पुनः कप्तान लियोनेल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने अवसर

मेसीले पहिलो विश्वकप सन् २००६ मा खेलेका थिए । त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ संस्करणमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका छन् । २०२६ को विश्वकपमा मैदान उत्रिएसँगै उनी आफ्नो छैटौँ विश्वकप खेल्ने खेलाडी बन्नेछन् ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पनि यो उपलब्धिनजिक रहेका छन् । तर मेसी अर्जेन्टिनाबाट छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान पछ्याउँदै मेसीले हालसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ । उनले २४ खेलमा १६ गोल गरेका थिए ।

यदि मेसीले २०२६ विश्वकपमा चार वा सोभन्दा बढी गोल गर्न सके, उनले क्लोजेलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् । अर्जेन्टिनाको बलियो टोली र मेसीको अनुभवलाई हेर्दा यो उपलब्धि असम्भव मानिएको छैन ।

पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी बन्ने सम्भावना

मेसीले २००६, २०१४, २०१८ र २०२२ विश्वकपमा गोल गरिसकेका छन् । यदि उनले २०२६ संस्करणमा पनि कम्तीमा एक गोल गरे भने पाँच फरक विश्वकपमा गोल गर्ने विश्वका दोस्रो खेलाडी बन्नेछन् । हाल यो कीर्तिमान केवल क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकपमा गोल गरेका थिए । मेसीले यो उपलब्धि हासिल गरे दक्षिण अमेरिकाबाट पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बन्नेछन् ।

सर्वाधिक निर्णायक असिस्टको कीर्तिमान पनि नजिक

मेसी केवल गोलकर्ता मात्र होइनन्, गोल सिर्जना गर्ने खेलाडीका रूपमा पनि परिचित छन् । उनले विश्वकपमा हालसम्म आठ निर्णायक असिस्ट गरेका छन् ।

यस सूचीमा उनी अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनासँग बराबरीमा छन् । यदि २०२६ विश्वकपमा उनले एक निर्णायक असिस्ट थप्न सके अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक निर्णायक पास दिने खेलाडी बन्नेछन् । विश्वकप इतिहासमा सर्वाधिक नौ निर्णायक असिस्ट दिने कीर्तिमान पश्चिम जर्मनीका फ्रिट्ज वाल्टरको नाममा छ । मेसी यो कीर्तिमान बराबरी गर्न एक र तोड्न दुई निर्णायक पास टाढा छन् ।

कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्ने लक्ष्य

मेसीले २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए । यदि उनले २०२६ मा पनि टोलीलाई उपाधि दिलाउन सके विश्व फुटबल इतिहासमा कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्नेछन् । विश्व फुटबलका धेरै महान कप्तानले विश्वकप उचाले पनि कसैले दुई पटक कप्तानका रूपमा यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

अर्को ऐतिहासिक उपलब्धिको सम्भावना

मेसीको कप्तानीमा अर्जेन्टिना २०१४ र २०२२ विश्वकपको फाइनलमा पुगिसकेको छ । यदि अर्जेन्टिना २०२६ मा पनि फाइनलमा पुग्यो भने मेसी विश्वकप इतिहासमा आफ्नो टोलीलाई तीन पटक फाइनलसम्म पुर्‍याउने पहिलो कप्तान बन्नेछन् ।

कतार विश्वकप २०२२ जितेपछि धेरैले मेसीको विश्वकप यात्रा समाप्त भएको अनुमान गरेका थिए । तर २०२६ मा उनी फेरि अर्जेन्टिनाको आशा र भरोसाको केन्द्र बनेका छन् । यसपटक उनको लक्ष्य केवल अर्को विश्वकप उपाधि जित्नु मात्र होइन, दशकौँदेखि कायम रहेका ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाउनु पनि हुनेछ । यदि मेसीले आफ्नो लय कायम राख्न सके, फिफा विश्वकप २०२६ ले उनको महान करियरमा अर्को स्वर्णिम अध्याय थप्न सक्छ ।

Read More

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तान विजयी

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेल पाकिस्तानले ४ विकेटले जितेको हो  । 

अस्ट्रेलियाले दिएको केवल १५८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४१.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो  । 

पाकिस्तानको जितमा बाबर आजमले सर्बाधिक ४० रन बनाएका थिए भने अस्ट्रेलियाका बलर माथ्यू कुहनेम्यानले ३ विकेट लिएका थिए  । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४२ ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो  ।  अस्ट्रेलियाका लागि कप्तान जोश इङलिसले सर्बाधिक ६५ एन बनाएका थिए भने पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए  । 

योसँगै पाकिस्तानले यो सिरिज २-१ ले जितेको छ । सिरिजको पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो  । 

Read More

क्यानले टाइम आउटको घटनामा भुटानी क्रिकेटसँग माग्यो माफी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आज भएको एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा भुटानी ब्याटरलाई टाइम आउट दिएको विषयप्रति दुख व्यक्त गर्दै भुटान क्रिकेटसँग माफी मागेको छ ।

क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टाइम आउटको घटना क्रिकेटको मूल भावना र मूल्यसँग मेल नखाने भन्दै भुटान क्रिकेट संघ, सम्बन्धित खेलाडी तथा सबै सरोकारवालाप्रति पनि संघले क्षमायाचना गरेका हुन् ।

आज भएको खेलमा ढिलो गरि मैदानमा आएकी भुटानी ब्याटर रित्शी छोडेनविरुद्ध नेपालको अपिलपछि आउट दिइएको थियो ।  

महिला राष्ट्रिय टोलीको उक्त व्यवहारप्रति गहिरो खेद व्यक्त गर्दै सचिव खड्काले नियमअनुसार आउट दिइए पनि खेलको भावना केवल नियममा मात्र सीमित नहुने र स्पोर्ट्सम्यानसिप सधैं केन्द्रमा रहनुपर्ने उल्लेख गरेका छन् ।

विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा नेपालले खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राख्ने जनाउदै खड्काले यो घटनाले ती मूल्यहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसले पारेको असन्तुष्टिप्रति पनि दुःख व्यक्त गरेका छन् ।

साथै उनले भविष्यमा खेलको मैदानभित्र र बाहिर दुवै ठाउँमा उच्च इमानदारी र क्रिकेटको भावना कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

Read More

एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुदै सेमिफाइनलमा

काठमाडौँ । नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।

एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन मात्र बनाएको थियो ।

मलेसियाका लागि कप्तान सयेद अजिजले सर्बाधिक ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो । त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत मलेसिया उपविजेता हुदै सेमिफाइनल खेल्ने छ । नेपाल र मलेसिया दुवै एशियन गेम्समा यसअघि नै छनौट भैसकेका छन् ।

अब नेपालले सेमिफाइनलमा कुन देशसँग खेल्छ भन्ने समुह बि का समुह चरणका खेलपछि टुंगो लाग्ने छ ।

Read More

कुशल भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो ।

त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए ।

Read More

टी- २० क्रिकेटमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

काठमाडौँ । कुशल भुर्तेलले टी- २० क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

कुशलले आज जारी मलेसियाविरुद्धको एशियन गेम्स अन्तर्गतको खेलमा शतक प्रहार गरेका हुन् । उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।

यो कुशलको टी- २० क्रिकेटमा लगातार दोस्रो शतक हो भने कुल तेस्रो शतक हो । उनले यसअघि यसै प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए ।

यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले १४.२ ओभरमा २ विकेट गुमाएर १९६ रन बनाएको छ ।

Read More

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

आजको खेलमा  दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

Read More

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउदै ६२ रन मात्र बनाएको थियो । 

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो ।

समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । 

अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ । 

Read More

विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यमलको फिटनेसलाई लिएर विश्वकप अघि ठूलो अनिश्चितता देखिएको छ । विश्व फुटबलमा सबैभन्दा चम्किला प्रतिभामध्ये एक मानिने यमल चोटका कारण प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा बढेको छ ।

१८ वर्षे यमलले युरो २०२४ मा शानदार प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए । त्यसपछि बार्सिलोनाका लागि पनि उनी लगातार प्रभावशाली बनेका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर उनलाई पछाडिको तिघ्रा मांसपेशीमा चोट लागेपछि अवस्था जटिल बनेको हो ।

अप्रिल २२ मा सेल्टा भिगोविरुद्धको खेलमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि उनी मैदानमै ढलेका थिए । त्यसपछि उनी अझै मैदान फर्किन सकेका छैनन् । प्रारम्भमा चोट सामान्य देखिए पनि पछि यो गम्भीर भएको पुष्टि भएको थियो । चिकित्सकहरूले करिब दुई महिनासम्म आराम आवश्यक पर्न सक्ने बताएका थिए ।

यसैबीच बार्सिलोना र स्पेनिस फुटबल संघबीच उनको उपचार र तयारीलाई लिएर निरन्तर समन्वय भइरहेको छ । बार्सिलोनाले भने यमल विश्वकपका लागि उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले उनलाई २६ सदस्यीय टोलीमा समावेश गरेका छन् । तर उनी सुरुदेखि नै खेल्न सक्ने अवस्थामा हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । रिपोर्ट अनुसार यमलले समूह चरणका पहिलो दुई खेल गुमाउन सक्ने सम्भावना छ । स्पेनले समूह चरणमा केप भर्डे र साउदी अरेबियासँग खेल्नेछ भने उरुग्वेसँग अन्तिम खेल हुनेछ ।

प्रशिक्षक दे ला फुएन्तेले भने टोलीमा गहिरो विकल्प भएकाले तत्काल ठूलो समस्या नहुने बताएका छन् । उनले यमल पूर्ण रूपमा फिट नभए पनि पछि महत्वपूर्ण समयमा मैदानमा उतार्न सकिने संकेत दिएका छन् ।

स्पेनसँग यमलको अनुपस्थितिमा पनि आक्रमणमा विकल्प छन् । येरमी पिनो र भिक्टर मुनोज जस्ता खेलाडीले उनको स्थान सम्हाल्न सक्ने सम्भावना छ । यस्तै निको विलियम्स पनि चोटबाट फर्किने तयारीमा छन् । तर स्पेनका लागि मुख्य चिन्ता नकआउट चरणमा यमल पूर्ण रूपमा फिट नभएमा के गर्ने भन्ने हो । किनभने युरोपेली विजेता स्पेनले अन्तिम ३२ मा अस्ट्रिया वा अल्जेरिया जस्ता बलिया टोलीसँग सामना गर्नुपर्ने सम्भावना छ ।

यसअघि यमलले युरो २०२४ मा अन्तिम चरणका खेलहरूमा निर्णायक भूमिका खेलेका थिए । त्यसैले उनलाई स्पेनको भविष्यको प्रमुख खेलाडीका रूपमा हेरिएको छ ।

विश्वकप नजिकिँदै गर्दा यमलको फिटनेसलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यदि उनी समयमै फर्किन सके भने स्पेनका लागि उपाधि यात्रामा ठूलो शक्ति बन्न सक्छन्, तर ढिलाइ भएमा प्रतियोगिताको चमक नै प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

विश्वकपमा समुह एचमा रहेको स्पेनले पहिलो खेल जुन १५ मा केप भेर्ड़ेसँग खेल्ने छ भने दोस्रो खेल जुन २१ मा साउदी अरेबियासँग र तेस्रो खेल जुन २६ मा उरुग्वेसँग खेल्ने तालिका छ । त्यसअघि स्पेनले जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।

Read More