२०८३ कार्तिक १०

एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै

काठमाडौं । जापानमा हुने एशियन गेम्सका क्रिकेटतर्फ छनौट हुने चार देशको टुंगो लागेको छ ।

सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत नेपालसहित मलेसिया, ओमान र हङकङ एशियन गेम्समा छनौट भएका हुन् ।

नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट छनौट भएका हुन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

एशियन गेम्सको छनौट खेल अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ । नेपाली समय अनुसार अपराहन्न सवा १२ बजेदेखि शुरु हुने यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।

यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

Read More

साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

काठमाडौँ । भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा भारतले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले फाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । फाइनल खेल शुक्रबार हुने छ ।

नेपाल भने बुधबार नै भएको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

Read More

नेपालको एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात

काठमाडौँ । नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । 

नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको ७७ रनको लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा विन्दु रावलले ३३ र पुजा महतोले अविजित २८ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दा कतारले १६.५ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो । कतारका लागि गेट्रुडो चन्दिरुले २५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन् ।   

नेपालले यस प्रतियोगितामा अब अर्को खेल जुन ४ मा भुटानसँग, र जुन ६ मा हङकङसँग खेल्ने तालिका रहेको छ ।        

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।  एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् ।  त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् । 

Read More

विश्वकप जित्ने सपना पूरा गर्न अन्तिम अवसरमा रोनाल्डो

काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आगामी फिफा फुटबल विश्वकप केवल अर्को प्रतियोगिता होइन, बरु आफ्नो महान् फुटबल यात्रालाई पूर्णता दिने अन्तिम अवसर हो । सन् २०२२ को विश्वकपमा मोरक्कोसँगको क्वार्टरफाइनल हारपछि आँसु झारेका रोनाल्डोले त्यसबेला पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरकै सबैभन्दा ठूलो सपना रहेको बताएका थिए ।

सन् २०२६ को विश्वकपसम्म पुग्दा रोनाल्डो ४१ वर्षका छन् । यो उनको छैटौँ विश्वकप हुनेछ । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डो विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिए पनि विश्वकपमा उनको उपलब्धि अपेक्षाअनुसार छैन । उनले अहिलेसम्म केवल एकपटक सेमिफाइनल खेलेका छन् भने नकआउट चरणमा एक गोल पनि गर्न सकेका छैनन् ।

कतार विश्वकपपछि पोर्चुगलले नयाँ प्रशिक्षकका रूपमा रोबेर्टो मार्टिनेजलाई नियुक्त गर्यो । धेरैले युवा टोली निर्माणको अपेक्षा गरे पनि मार्टिनेजले रोनाल्डोलाई कप्तानकै रूपमा निरन्तरता दिए । युरोपेली च्याम्पियनसिप छनोटमा उनले धेरै गोल गरे पनि मुख्य प्रतियोगितामा गोल गर्न सकेनन् । त्यसक्रममा उनको प्रदर्शन र टोलीमा स्थानबारे व्यापक बहस भएको थियो ।

यद्यपि, पछिल्लो नेशनल लिगमा रोनाल्डोले निर्णायक भूमिका खेले । उनले जर्मनीविरुद्धको सेमिफाइनल र स्पेनविरुद्धको फाइनलमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाउन मद्दत गरे । त्यसले उनको अनुभव र गोल गर्ने क्षमतामाथिको विश्वास फेरि बलियो बनायो ।

तर उमेरसँगै उनको गतिशीलता घटेको छ । आधुनिक फुटबलमा आक्रमणकर्ताबाट अपेक्षा गरिने दबाब सिर्जना गर्ने शैलीमा उनी पहिलेजस्तो प्रभावकारी छैनन् । त्यसैले पोर्चुगलले बढी चलायमान फरवार्डबाट लाभ लिन सक्ने तर्क पनि उठिरहेको छ ।

तर रोनाल्डोको पक्षमा एउटा ठूलो आधार उनको अनुभव, नेतृत्व र जित्ने अदम्य चाहना रहेको छ । पोर्चुगलसँग अहिले ब्रुनो फर्नानडेज, भितिन्हा, जोआओ नेभेस, रुबेन डियास र नुनो मेन्डेस जस्ता प्रतिभाशाली खेलाडी छन् । धेरै विश्लेषकले यो पोर्चुगलको इतिहासकै सबैभन्दा बलियो टोली मान्छन् ।

त्यसैले सन् २०२६ को विश्वकप रोनाल्डोका लागि व्यक्तिगत विरासतको परीक्षा मात्र होइन, पोर्चुगलको विश्व च्याम्पियन बन्ने सम्भावनासँग पनि जोडिएको छ । विश्वकप जित्ने उनको सपना पूरा हुन्छ कि हुँदैन, त्यो भविष्यले बताउनेछ । तर यति निश्चित छ कि फुटबलको सबैभन्दा ठूलो मञ्चमा यो रोनाल्डोको अन्तिम यात्रा हुनेछ ।

पोर्चुगलको टिम:     

गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो । 

डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो । 

मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा । 

फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो,  राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो । 

विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।

Read More

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियाको कमब्याक

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ ।

पाकिस्तान टूरमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा हार बेहोरेपनि दोस्रो खेलमा ४१ रनको जित हासिल गर्दै सिरिजमा कमब्याक गरेको हो ।

अस्ट्रेलियाले दिएको २३२ रनको लक्ष्य पछाएको पाकिस्तान ४४ ओभरमा १९० रन बनाउदा अलआउट भएको थियो ।पाकिस्तानका लागि शदाब खानले सर्बाधिक ७१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले सर्बाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले सर्बाधिक ३ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो । अब सिरिजको अन्तिम खेल विहिबार हुने तालिका छ ।

Read More

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदैछन् ।

आज पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ । 

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै दोस्रो सेमिफाइनलमा भारत र भुटान पनि खेल्दैछन् । यो खेल राति सवा ८ बजेदेखि शुरु हुने छ । 

समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।

Read More

टर्कीको फिफा विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौँ । टर्कीले फिफा विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । टर्कीले सार्वजनिक गरेको टोलीमा प्रारम्भिक सूचीबाट नौ खेलाडी बाहिरिएका छन् भने अन्तिम २६ सदस्यीय टोलीलाई अन्तिम रूप दिइएको छ ।

टर्कीले गोलरक्षक अल्ताय बायिन्दिर, मेर्त गुनोक र उगुरजान चाकिरलाई समेटेको छ भने कप्तान हाकान चाल्हानोग्लु, अर्दा गुलर, केनान यिल्दिज र केरेम अक्टुर्कोग्लुजस्ता प्रमुख खेलाडीहरू पनि अन्तिम टोलीमा परेका छन् ।

टर्कीको विश्वकप खेल्ने टिम:

गोलकिपर: उगुरजान चाकिर, अल्ताय बायिन्दिर र मेर्त गुनोक । 

डिफेन्डर:  फेर्दी कादिओग्लु, मेरिह देमिराल, जेकी चेलिक, ओजान काबाक, मेर्त मुल्दुर, अब्दुल्केरिम बार्दाक्ची, एरेन एलमाली, चागलार सोयुन्चु र सामेत अकायदिन । 

मिडफिल्डर: अर्दा गुलर, कान उजुन, ओरकुन कोक्चु, हाकान चाल्हानोग्लु, इस्माइल युक्सेक, कान आयहान र सालिह ओजकान । 

फरवार्ड :  केनान यिल्दिज, बारिस अल्पेर यिलमाज, केरेम अक्टुर्कोग्लु, युनुस आकगुन, ओगुज आयदिन, देनिज गुल र इर्फान कान काहवेची ।

विश्वकपको समूह चरण डी मा रहेको टर्कीले आफ्नो पहिलो खेल जुन १३ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । त्यसपछि जुन १९ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २५ मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

नेपाली पुरुष क्रिकेट टिम एशियन गेम्समा छनौट

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम जापानमा हुने एशियन गेम्सका लागि छनौट भएको छ ।

सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत मंगलबार समुह ए मा मलेसियाले चीनलाई पराजित गरेसँगै मलेसिया र नेपाल दुवै एसियन गेम्समा छनौट भएका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २१२ रनको फराकिलो अन्तरले हराएको थियो । अब नेपालले मलेसियासँग विहिबार खेल्ने तालिका रहेको छ ।

छनोटबाट सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने छन् । समुह बी मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन् ।

एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

तेक्वान्दो खेलाडी वैभवीले सिक्किममा प्रतिस्पर्धा गर्ने

काठमाडौँ  । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट  प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा हुने सो प्रतियोगिता सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गर्न लागेको हो । ११ वर्षीया वैभवीले सिक्किममा क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।

जेठ २३ देखि शुरु हुने सो प्रतियोगितामा विभिन्न देशका खेलाडीको सहभागिता रहने छ ।

वैभवीले केही दिन अघि सम्पन्न बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकी थिइन् । वैभवीलाई हालैमात्र भक्तपुर जिल्लाले २०८२ सालको उत्कृष्ट महिला खेलाडी घोषित गर्दै वर्ष खेलाडीको रुपमा सम्मान गरेको थियो । त्यसका लागि वैभवी जेठ २० गते बुधबार सिक्किम प्रस्थान गर्ने छिन् ।

Read More

टिम डेभिड कारवाहीमा, आइपिएलको अर्को सिजनको पहिलो खेल खेल्न नपाउने

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याट्सम्यान टिम डेभिडले सिजनको तेस्रो सजाय पाएका कारण इन्डियन प्रिमियर लिग २०२७ को उद्घाटन खेल गुमाउने भएका छन् ।

आइतबार अहमदाबादमा भएको आईपीएल २०२६ को फाइनल खेलका क्रममा गुजरात टाइटन्सको इनिङ्सको १०औँ ओभरमा विकेट पतन भएपछि टिम डेभिडले आइस ब्याग अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा फ्याँकेपछि कारवाहीमा परेका हुन् । उनले खेलको आचारसंहिता धारा २.९ उल्लङ्घन गरेको कारण देखाउदै उनलाई उक्त धारा अनुसार खेलका क्रममा कुनै पनि खेलाडीले बल वा पानीको बोतल, वा अन्य सामग्रीलाई अम्पायर, खेलाडी, म्याच रेफ्री वा अन्य व्यक्तितर्फ असुरक्षित वा अनुचित तरिकाले फ्याँक्न नपाइने नियम अनुसार कारवाही गरिएको बताइएको छ ।

टिम डेभिडले गल्ती स्वीकार गर्दै म्याच रेफ्री जवागल श्रीनाथले तोकेको सजाय स्वीकार गरेका छन् । यस सिजनको उनको पाँचौँ डिमेरिट प्वाइन्ट भएपछि उनलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । जस अनुसार उनले अर्को सिजनको आइपिएलको पहिलो खेल गुमाउने भएका छन् ।

फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यो उनीहरूको लगातार दोस्रो उपाधि हो ।

Read More