२०८३ कार्तिक १०

आइसीसीको बोर्डले लागु गर्यो टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ ।

भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा परिवर्तन गर्नुका साथै टेस्ट क्रिकेटमा पिंक बल प्रयोगसम्बन्धी नयाँ परीक्षणलाई पनि स्वीकृति दिइएको छ ।

आईसीसी बोर्डले खेलसम्बन्धी नियम संशोधन गर्दै अब मुख्य प्रशिक्षक वा उनले तोकेको प्रतिनिधिले निर्धारित ड्रिंक ब्रेकका क्रममा खेलाडीसँग परामर्श गर्न पाउने व्यवस्था स्वीकृत गरेको छ । यसअघि खेल चलिरहेको समयमा प्रशिक्षक र खेलाडीबीच रणनीतिक संवादमा कडा प्रतिबन्ध थियो ।

नयाँ व्यवस्थाअनुसार निर्धारित विश्रामका बेला टोलीले रणनीतिक छलफल गर्न सक्नेछ । यसले खेलको परिस्थितिअनुसार टोलीलाई अझ प्रभावकारी निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आईसीसी बोर्डले टी–२० अन्तर्राष्ट्रिय खेलमा दुवै इनिङ्सबीच १५ मिनेटको अनिवार्य अन्तराल लागू गर्ने निर्णय पनि गरेको छ । यस कदमले खेल सञ्चालनलाई अझ व्यवस्थित बनाउने, खेलाडीलाई पर्याप्त तयारी समय उपलब्ध गराउने तथा प्रत्यक्ष प्रसारणसम्बन्धी आवश्यकतालाई सहज रूपमा व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बैठकले अर्को महत्त्वपूर्ण निर्णयस्वरूप खेल अधिकारीलाई ‘हक–आई’ प्रविधिबाट प्राप्त तथ्यांकमा पहुँच दिने व्यवस्था स्वीकृत गरेको छ । अब कुनै बलरको बलिङ शैलीमाथि शंका उत्पन्न भएमा खेल अधिकारीहरूले प्रतिवेदन तयार गर्दा वा अवैध बलिङ शैलीको अनुसन्धानबारे विचार गर्दा ‘हक–आई’ बाट प्राप्त प्राविधिक तथ्यांक प्रयोग गर्न सक्नेछन् । यसले निर्णय प्रक्रियालाई अझ वैज्ञानिक, वस्तुनिष्ठ र सटीक बनाउने विश्वास गरिएको छ ।

आईसीसीले टेस्ट क्रिकेटमा पिंक बल प्रयोगसम्बन्धी परीक्षण कार्यक्रमलाई पनि स्वीकृति दिएको छ । यो परीक्षण विशेषगरी कमजोर प्रकाशका कारण खेल प्रभावित हुने सम्भावना भएका अवस्थामा गरिनेछ । यद्यपि पिंक बल प्रयोग गर्नुअघि दुवै टोलीको पूर्वसहमति अनिवार्य रहनेछ ।

आईसीसीका अनुसार यस व्यवस्थाले कमजोर प्रकाशका कारण खेल रोक्नुपर्ने अवस्थालाई कम गर्न मद्दत गर्नेछ र अधिक ओभर खेलाउन सम्भव बनाउनेछ । आईसीसी बोर्डका यी निर्णयहरू क्रिकेट सञ्चालनलाई अझ आधुनिक, प्रविधिमैत्री र दर्शकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रशिक्षकसम्बन्धी नियममा गरिएको सहजता, प्रविधिको प्रयोगको विस्तार तथा टेस्ट क्रिकेटमा गुलाबी बलको नयाँ परीक्षणजस्ता निर्णयहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यापक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

Read More

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

काठमाडौँ ।  नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् । 

सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५ -१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् ।

यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लंका प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।

यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि शुरु भएको लंका प्रिमियर लिग गत बर्ष भने भएको थिएन ।

Read More

आइपिएल जितेको बेङ्गलुरुले कति पायो पुरस्कार रकम ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरुले ट्रफीसहित २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको गुजरात टाइटन्सले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

यस सिजन व्यक्तिगत पुरस्कारतर्फ राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी सर्वाधिक चर्चामा रहे । उनले प्रतियोगिताभर ७७६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने ‘ओरेन्ज क्याप’ जिते ।

वैभवले यस सिजन सर्वाधिक मूल्यवान खेलाडी, उत्कृष्ट उदयीमान खेलाडी, सर्वाधिक छक्का प्रहारकर्ता तथा सिजनको उत्कृष्ट स्ट्राइकरसहित कुल पाँच वटा व्यक्तिगत पुरस्कार आफ्नो नाममा पारे ।

उत्कृष्ट प्रदर्शनका कारण वैभव आईपीएल २०२६ का सबैभन्दा सफल व्यक्तिगत अवार्ड विजेता खेलाडी बनेका छन् ।

Read More

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

गएराती समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै बंगलादेश २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

अब पहिलो सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा भारत र भुटान खेल्ने भएका छन् । सेमिफाइनलका खेल बुधबार हुने छन् । त्यस्तै फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।

Read More

आइपिएलबाट वैभव सूर्यवंशीको उदय

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ । यस सिजनमा धेरै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे पनि सबैभन्दा बढी चर्चा राजस्थान रोयल्सका १५ वर्षीय युवा ओपनर वैभव सूर्यवंशीको रह्यो र यस सिजनबाट उनको विश्व क्रिकेटमा उदय समेत भएको छ ।

कम उमेरमै विस्फोटक प्रदर्शन गरेका वैभवले विश्व क्रिकेटका धेरै पूर्व तथा वर्तमान खेलाडीलाई प्रभावित बनाएका छन् । उनको प्रदर्शनपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिनुपर्ने कि नपर्ने भन्ने बहससमेत सुरु भएको छ । वैभव यस सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्दै प्रतिष्ठित ‘ओरेन्ज क्याप’ जित्न सफल भए । उनले यस सिजनका १५ खेलमा ७७६ रन बनाएर ओरेन्ज क्याप जितेका हुन् । 

राजस्थान रोयल्सको यात्रा दोस्रो क्वालिफायरमा हारसँगै समाप्त भए पनि वैभव ओरेन्ज क्यापको दौडमा अन्तिमसम्म शीर्ष स्थानमा कायम रहे । फाइनलअघि गुजरातका कप्तान शुभमन गिल र साई सुदर्शन पनि प्रतिस्पर्धामा थिए । तर उपाधि भिडन्तमा दुवै ब्याट्सम्यान सस्तो स्कोरमा आउट भएपछि उनीहरू वैभवलाई उछिन्न असफल भए ।

आईपिएलमा प्रत्येक सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ओरेन्ज क्याप प्रदान गरिन्छ । यो केवल पुरस्कार मात्र नभई पूरै सिजनभरको निरन्तरता, प्रभाव र उत्कृष्टताको प्रतीक मानिन्छ । सन् २००८ मा सुरु भएको प्रतियोगिताको १९ सिजनमा हालसम्म १५ फरक खेलाडीले ओरेन्ज क्याप जितेका छन् । यस पटक वैभव सूर्यवंशीको नाम पनि उक्त सूचीमा थपिएको छ ।

ओरेन्ज क्याप सर्वाधिक पटक जित्ने खेलाडीको सूचीमा डेभिड वार्नर शीर्ष स्थानमा छन् । उनले सन् २०१५, २०१७ र २०१९ मा गरी तीन पटक यो सम्मान जितेका थिए । क्रिस गेल र विराट कोहलीले समान दुई–दुई पटक ओरेन्ज क्याप जितेका छन् । विराटले सन् २०१६ मा बनाएको ९७३ रनको कीर्तिमान अझै पनि आईपिएल इतिहासकै उत्कृष्ट ब्याटिङ प्रदर्शनमध्ये एक मानिन्छ ।

चालु सिजनमा तीन ब्याट्सम्यानले ७०० भन्दा बढी रन बनाए । वैभवसँगै शुभमन गिल र साई सुदर्शन पनि ७०० रनको आँकडा पार गर्ने खेलाडी बने । यी तीनै जना ओरेन्ज क्यापका प्रमुख दाबेदार थिए ।

वैभवले १६ खेलमा २३७.३० को स्ट्राइक रेटमा ७७६ रन बनाए । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरे । दोस्रो स्थानमा रहेका गिलले १६ खेलमा १६३. ०२ को स्ट्राइक रेटमा ७३२ रन बनाए । उनले एक शतक र छ अर्धशतक प्रहार गरेका थिए । साई सुदर्शनले १७ खेलमा १५७. ९८ को स्ट्राइक रेटमा ७२२ रन बनाए ।

वैभवका निकटतम प्रतिस्पर्धी गिल थिए र दुवैबीच ५४ रनको अन्तर थियो । तर फाइनलमा गिलले केवल १० रन बनाए भने सुदर्शन १२ रनमै पेभिलियन फर्किए । त्यसपछि वैभव सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा कायम रहने निश्चित भयो ।

हालका केही सिजनमा युवा खेलाडीहरूको प्रभाव बढ्दो देखिएको छ । ऋतुराज गायकवाडले २०२१, शुभमन गिलले २०२३ र साई सुदर्शनले २०२५ मा ओरेन्ज क्याप जितेका थिए । सन् २०२४ मा विराट कोहलीले ७४१ रन बनाएर आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेका थिए । यस वर्ष भने वैभव सूर्यवंशीले ७७६ रनसहित नयाँ इतिहास रचेका छन् ।

Read More

रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक जित्यो आइपिएलको उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो ।

गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रन बनाएका थिए भने वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले ५० रन बनाएका थिए भने निशान्त सिन्धुले २०, जोस बटलरले १९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका रासिख सलामले ३ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडले २-२ विकेट लिएका थिए ।

योसँगै बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधिको जितेको छ । फाइनल खेलको प्लेयर अफ द म्याच विराट कोहली बनेका छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिज वैभव सुर्यबंशी बनेका छन् ।   

Read More

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ । नेपालले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए । 

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

Read More

कुशल भुर्तेलले बनाए चीनविरुद्ध ३५ बलमा शतक

काठमाडौँ । कुशल भुर्तेलले चीनविरुद्ध शतक प्रहार गरेका छन् । एशियन गेम्सको क्वायालिफायर्स अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा शतक प्रहार गरेका हुन् ।

शतक प्रहार गर्ने क्रममा कुशलले १२ छक्का र ३ चौका प्रहार गरेका थिए । यो टी-२० खेलमा कुशलको दोश्रो शतक हो । 

यो समाचार तयार गरुन्जेल नेपालले १२ ओभरमा एक विकेट गुमाएर १७५ रन बनाएको छ ।   

Read More

साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ ।  नेपालले साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । 

नेपालले भारतको गोवामा हुने यो जिते या बराबरीले मात्रै पनि नेपाल समूह ए को विजेता बन्नेछ । 

पहिलो खेलमा नेपालले भुटानलाई १–० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने भुटानसँग पहिलो खेलमा ४-० ले पराजित भएको थियो । 

त्यस्तै समूह बी बाट एक खेलअघि नै भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार नै भारत र बंगलादेशबीच खेल हुदैछ । यो खेलपछि समूह बी को विजेता र उपविजेता पनि टुंगो लाग्नेछ । 

प्रतियोगिताको सेमिफाइनल खेल जुन ३ मा हुने छ भने फाइनल खेल जुन ५ मा हुने तालिका रहेको छ ।

Read More

आइपिएलको फाइनल आज: बैंगलुरु र गुजरात आमने सामने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदैछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोलीमध्ये गुजरात र बेंगलुरु पहिलो क्वालिफायर्समा आमनेसामने भएका थिए । उक्त खेलमा बेंगलुरुले एकपक्षीय जित निकालेको थियो । तर उपाधि भिडन्तमा परिस्थिति फरक रहने अपेक्षा गरिएको छ । गुजरातको घरेलु मैदानमा हुने फाइनल खेलमा दुवै टोलीमाथि जितको दबाब रहनेछ ।

यसपटकको उपाधि भिडन्तमा दुई फरक खेल शैलीबीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुले आक्रामक र निडर खेलमार्फत प्रतियोगितामा प्रभुत्व जमाएको छ भने गुजरातले संयमित र धैर्यपूर्ण प्रदर्शनका आधारमा पाँच वर्षमा तेस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो । बेंगलुरु बलियो दाबेदार देखिए पनि गुजरातलाई कमजोर आँक्न सकिने अवस्था छैन ।

बेंगलुरुको सफलतामा विराट कोहलीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सुरुआती खेलहरूमा फिल साल्टसँग उनको साझेदारी प्रभावशाली थियो । तर साल्ट घाइते भएपछि वेंकटेश अय्यरले टोलीलाई मजबुत सुरुआत दिलाउँदै आएका छन् । अन्तिम प्रतिस्पर्धामा साल्ट उपलब्ध हुने वा नहुने विषय पनि चासोको केन्द्र बनेको छ ।

गुजरातका लागि शीर्षक्रमका ब्याटरहरू मुख्य आधार हुन् । शुभमन गिल र साई सुदर्शनको जोडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । दुवैले छनोट चरणमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरूको निरन्तर प्रदर्शनले गुजरातलाई उपाधिनजिक पुर्‍याएको छ । जोस बटलर पनि कुनै पनि बेला खेलको दिशा बदल्न सक्ने क्षमता भएका ब्याटर मानिन्छन् ।

बलिङतर्फ बेंगलुरुका भुवनेश्वर कुमार र जोश हेजलउडले नयाँ बलबाट लगातार प्रभाव छाडेका छन् । उनीहरूले सुरुआती ओभरमै विपक्षीलाई दबाबमा पार्ने क्षमता देखाएका छन् । गुजरातका प्रमुख ब्याटरहरूलाई रोक्न उनीहरूको भूमिका निर्णायक बन्न सक्छ ।

यता गुजरातले पनि आफ्ना तीव्र गतिका बलरहरूबाट ठूलो अपेक्षा राखेको छ । कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन गर्न सके बेंगलुरुको आक्रामक ब्याटिङलाई नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ । साथै राहुल तेवतियालाई सुरुआती टोलीमै समावेश गरेर ब्याटिङलाई थप बलियो बनाउने सम्भावना पनि छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यस वर्षको उपाधि भिडन्त अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। क्रिकेट समर्थकहरू एक अविस्मरणीय प्रतिस्पर्धाको प्रतीक्षामा छन् ।

फाइनलको सम्भावित टोली: 

बेंगलुरु: रजत पाटीदार (कप्तान), वेंकटेश अय्यर, विराट कोहली, देवदत्त पडिक्कल, जितेश शर्मा, टिम डेभिड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, ज्याकब डफी, जोश हेजलउड र रासिख सलाम डार ।
गुजरात: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, निशान्त सिन्धु, वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवतिया, राशिद खान, प्रसिद्ध कृष्णा, कागिसो रबाडा र मोहम्मद सिराज ।

Read More