२०८३ कार्तिक १०

लेवान्डोस्कीले बार्सिलोना छोड्ने

काठमाडौँ । बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनपछि क्लब छाड्ने भएका छन् । क्लबले शनिबार औपचारिक रूपमा उनको बिदाइको घोषणा गरेको हो ।

३७ वर्षीय पोलिस स्ट्राइकरले यसै साता प्रशिक्षणका क्रममा सहकर्मी र प्रशिक्षक टोलीलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । उनले बार्सिलोनामा बिताएका चार वर्षलाई आफ्नो करिअरकै ‘सबैभन्दा अविस्मरणीय अध्याय’ बताएका छन् ।

लेवान्डोस्कीले सामाजिक सञ्जालमार्फत चार वर्षमा तीन लिग उपाधिसहित सात ट्रफी जित्न सफल भएको उल्लेख गर्दै समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले क्याटालोनियालाई ‘आफ्नो जीवनको विशेष स्थान’ समेत बताएका छन् ।

सन् २०२२ मा बायर्न म्युनिखबाट करिब ५ करोड युरोमा बार्सिलोना आएका उनले १९१ खेलमा ११९ गोल गरेका छन् । उनी क्लबका सर्वाधिक गोलकर्ताको सूचीमा १४औँ स्थानमा रहेका छन् । पहिलो सिजनमै उनले सर्वाधिक गोलकर्ता पुरस्कार जित्दै टोलीलाई लिग उपाधि दिलाएका थिए ।

बार्सिलोनाले पनि लेवान्डोस्कीको योगदानको प्रशंसा गर्दै उनले गोल, नेतृत्व र उत्कृष्ट प्रतिस्पर्धी भावना मार्फत क्लबमा गहिरो छाप छाडेको जनाएको छ ।

अब उनको नयाँ गन्तव्यबारे चर्चा सुरु भएको छ । युभेन्टस र अमेरिकन फुटबल लिगका केही क्लबसँग नाम जोडिए पनि साउदी क्लब अल हिलालले उनलाई वार्षिक ९ करोड युरो बराबरको प्रस्ताव गरेको बताइएको छ ।

Read More

निरुता ठगुन्ना बनिन् राष्ट्रिय महिला भलिबल टिमको कप्तान

काठमाडौं । निरुता ठगुन्नालाई नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान बनाइएको छ । नेपाल भलिबल सङ्घले निरुतालाई नयाँ कप्तानमा नियुक्त गरिएको जानकारी दिएको हो । 

निरुता महिला भलिबल टिममा नियुक्त भएकी छैटौँ कप्तान हुन् । नेपाली महिला भलिबल टिममा यसअघि अरुणा शाही कप्तान रहेकी थिइन् । उनी अस्ट्रेलिया गएपछि निरुतालाई नियुक्त बनाइएको हो ।

निरुताले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको रुपमा निरुताले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

Read More

साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।

एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली महिला टिमको प्रशिक्षकमा नविन न्यौपाने रहेका छन् । 

सावित्रा भण्डारी साम्बाले भने इन्जुरिका कारण यो प्रतियोगिता गुमाउने भएकी छन् । उनी आफ्नो इन्जुरीको उपचारका लागि हाल कतारमा रहेकी छन् ।

नेपाली टिममा  गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । 

मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता जेठ ११ देखि जेठ २३ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल जेठ ११ गते समुह ए मा रहेको नेपालले भुटानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

Read More

जापानको फिफा विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । जापानले सन् २०२६ फिफा विश्वकपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । ताकेफुसा कुबो र अनुभवी युटो नागातोमोको नेतृत्वमा रहेको टोलीलाई यसपटक पनि प्रतियोगिताको सम्भावित ‘चकित पार्ने टोली’का रूपमा हेरिएको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपका लागि मुख्य प्रशिक्षक हाजिमे मोरियासुले लगातार दोस्रोपटक जापानको नेतृत्व गर्नेछन् । कतारमा सन् २०२२ मा भएको विश्वकपमा जापानले युरोपका बलिया टोलीहरूलाई स्तब्ध पार्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसबेला जापानको खेलशैलीले विश्वव्यापी प्रशंसा पाएको थियो ।

यसपटक जापानले समूह ‘एफ’ मा नेदरल्यान्ड्स, ट्युनिसिया र स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । जापानले जुन १४ मा टेक्सासको आर्लिङ्टनमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्ने तालिका छ ।

कप्तान वातारु एन्डो, स्टार खेलाडी ताकेफुसा कुबो, जुन्या इतो र रित्सु दोआनसहितको टोलीलाई सन्तुलित मानिएको छ । अनुभवी युटो नागातोमोको उपस्थितिले टोलीलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ ।

जापानको विश्वकप टोलीमा गोलरक्षकतर्फ जियोन सुजुकी, केइसुके ओसाको र तोमोकी हायाकावा रहेका छन् । रक्षापंक्तिमा हिरोकी इतो, को इताकुरा, ताकेहिरो तोमियासु, त्सुयोशी वतानाबे, युकिनारी सुगावारा, शोगो तानिगुची, आयुमु सेको, जुनोसुके सुजुकी र युटो नागातोमो समावेश छन् ।

मिडफिल्डमा वातारु एन्डो, काइशु सानो, दाइची कामादा, आओ तानाका, जुन्या इतो, ताकेफुसा कुबो, रित्सु दोआन, केइतो नाकामुरा र युइतो सुजुकी रहेका छन् । फरवार्डतर्फ दाइजेन माएदा, आयासे उएदा, कोकी ओगावा, केइसुके गोतो र केन्तो शियोगाइलाई टोलीमा स्थान दिइएको छ ।

Read More

लिभरपुललाई हराउदै एस्टन भिल्ल्ला च्याम्पियन्स लिगमा छनौट

काठमाडौँ । एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।

गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एस्टन भिल्लाको जितमा ओली वाटकिन्सले २ गोल गरे भने मोर्गन रोजर्स र जोन म्याकगिनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल भिर्गिल भान डाइकले गरेका थिए ।

यो जितपछि एस्टन भिल्ल्लाको ३७ खेलमा ६२ अंक भएको छ र लिगमा चौठोस्थान्मा रहेको छ । त्यस्तै लिभरपुलको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । 

Read More

आइपिएलमा चेन्नईमाथि लखनउ ७ विकेटले विजयी

काठमाडौँ । लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए ।

त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए ।

यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल र अमेरिका एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ४ र अमेरिकाले ४ जित हासिल गरेका छन् भने एक खेल बराबरी भएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २५ खेल खेलेर ८ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै अमेरिका भने अहिलेसम्म २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै अमेरिकी टिममा मोनांक पटेल (कप्तान), जसदीप सिंह (उपकप्तान), आरोन जोन्स, जुआनोइ ड्राइसडाल, आन्द्रिज गोउस (विकेटकिपर), हरमित सिंह, नोसथुस केनजिगे, संजय कृष्णमुर्थी, मिलिन्द कुमार, साइतेजा मुक्कामल्ल्ला, सौरभ नेत्राभल्कर, स्मित पटेल, शयान जहानगिर, शाडलीभान स्कालविक र यासिर मोहमद रहेका छन् ।

 यस सिरिज अन्तर्गत अब अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

बेल्जियमको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । बेल्जियमले सन् २०२६ विश्वकपका लागि अन्तिम २६ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक रुडी गार्सियाले प्रतियोगिताका लागि आफ्नो अन्तिम टोली सार्वजनिक गरेका हुन् ।

सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्दै इतिहासकै उत्कृष्ट नतिजा निकालेको बेल्जियम सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो । त्यसक्रममा बेल्जियम मोरक्कोसँग पराजित भएको थियो भने क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।

यसपटक बेल्जियम अपेक्षाकृत सहज समूहमा परेको छ । बेल्जियमको समूहमा इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका छन् । म्यानचेस्टर सिटीका विङ्गर जेरेमी डोकु यसपटक टोलीका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा हेरिएका छन् । पछिल्लो समय उनले निरन्तर उत्कृष्ट प्रदर्शनसँगै गोल गर्न पनि थालेपछि उनको लय निकै राम्रो देखिएको छ ।

गोलरक्षकतर्फ थिबाउट कोर्टुवासँगै बलिया वैकल्पिक खेलाडी रहेकाले टोली सन्तुलित देखिएको छ । रियल मड्रिडबाट खेल्ने कोर्टुवा पछिल्लो सिजन चोट समस्याबाट गुज्रिए पनि उनी टोलीका प्रमुख रोजाइ बनेका छन् । मिडफिल्डमा प्रिमियर लिगमा खेलिरहेका अनुभवी खेलाडीहरूको उपस्थितिले बेल्जियमलाई थप मजबुत बनाएको छ ।

तर रक्षापंक्तिलाई भने टोलीको कमजोर पक्षका रूपमा हेरिएको छ । अनुभवी रक्षकहरूको कमी देखिएको अवस्थामा नयाँ पुस्ताका जेनो डेबास्ट र म्याक्सिम डे क्युपरले अपेक्षाअनुसार पर्याप्त खेल समय पाउन नसकेको चर्चा भइरहेको छ ।

बेल्जियमको विश्वकप खेल्ने टिम: 

गोलरक्षक

थिबाउट कोर्टुवा (रियल मड्रिड)
सेन्ने लामेन्स (म्यानचेस्टर युनाइटेड)
माइक पेन्डर्स (स्ट्रासबर्ग)

रक्षक

टिमोथी कास्टान्ये (फुलहम)
जेनो डेबास्ट (स्पोर्टिङ सिपी)
म्याक्सिम डे क्युपर (ब्राइटन)
कोनी डे विन्टर (एसी मिलान)
ब्रान्डन मेचेले (क्लब ब्रुग)
थोमस म्युनिएर (लिल)
नाथन न्गोय (लिल)
जोक्विन सेइस (क्लब ब्रुग)
आर्थर थिएट (आइन्ट्राख्ट फ्राङ्कफर्ट)

मिडफिल्डर

केभिन डी ब्रुने (नापोली)
अमाडु ओनाना (एस्टन भिल्ला)
निकोलस रास्किन (रेन्जर्स)
युरी टिलेमान्स (एस्टन भिल्ला)
हान्स भानाकेन (क्लब ब्रुग)
आक्सेल भिट्सेल (जिरोना)

फरवार्ड

चार्ल्स डे केटेलाएर (अटलान्टा)
जेरेमी डोकु (म्यानचेस्टर सिटी)
माटियास फर्नान्डेज पार्दो (लिल)
रोमेलु लुकाकु (नापोली)
डोडी लुकेबाकियो (बेन्फिका)
डिएगो मोरेइरा (स्ट्रासबर्ग)
अलेक्सिस सालेमाकर्स (एसी मिलान)
लियान्ड्रो ट्रोसार्ड (आर्सनल)

Read More

फुकुवा भयो एन्फाको निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । 

एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्य सचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो ।’

परिषद्ले एन्फालाई गत चैत ११ मा तीन महिना निलम्बन गरेको थियो ।

Read More

भारत-ए टिममा वैभव सूर्यवंशी

काठमाडौँ । भारतका १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशीलाई एकदिवसीय त्रिदेशीय सिरिजका लागि भारत ए टोलीमा समावेश गरिएको छ । तिलक बर्माको कप्तानीमा घोषणा गरिएको भारतीय ए टिममा सुर्यबंशीलाई सामेल गरिएको हो ।

सूर्यवंशी यसअघि एशिया कप राइजिङ स्टार्स तथा १९ वर्षमुनिको विश्वकपमा भारतको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । यही वर्ष जनवरीमा भएको १९ वर्षमुनिको विश्वकप फाइनलमा उनले १७५ रनको शानदार इनिङ्स खेलेका थिए । उत्कृष्ट प्रदर्शनकै आधारमा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

वैभवले आगामी जुनमा श्रीलंकामा हुने एकदिवसीय त्रिदेशीय सिरिज खेल्नेछन् । प्रतियोगितामा भारत–ए, श्रीलंका–ए र अफगानिस्तान–ए टोली सहभागी रहनेछन् । सूर्यवंशीले जारी आइपिएलमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सूर्यवंशीको क्रिकेट यात्रा १२ वर्षको उमेरमै रणजी ट्रफीबाट सुरु भएको थियो । उनले जनवरी २०२४ मा बिहारका लागि रणजी ट्रफीमा पदार्पण गरेका थिए । त्यतिबेला उनी १२ वर्षका मात्र थिए । उनले मुम्बई र छत्तीसगढविरुद्ध दुई प्रथम श्रेणी खेल खेल्दै ३१ रन बनाएका थिए ।

यससँगै उनले सचिन तेन्दुलकर र युवराज सिंहको कीर्तिमान तोड्दै घरेलु प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

१३ वर्षको उमेरमा उनले अस्ट्रेलियाविरुद्धको १९ वर्षमुनिको युवा टेस्ट शृंखलामा ५८ बलमै शतक प्रहार गरेका थिए । यो १९ वर्षमुनिको टेस्ट क्रिकेट इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक थियो । उनले ६२ बलमा १०४ रन बनाउने क्रममा १४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

उनले लिस्ट–ए क्रिकेटमा हालसम्म ८ खेल खेल्दै ४४.१२ को औसत र १६४.९५ को स्ट्राइक रेटमा ३५३ रन बनाएका छन् । यस क्रममा उनको उच्च स्कोर १९० रन रहेको छ । उनले यस ढाँचामा एक शतक र एक अर्धशतक प्रहार गरेका छन् । साथै ३७ चौका र २३ छक्का पनि हानेका छन् ।

आइपिएलको २०२५ मा उनले केवल ७ खेलमा २५२ रन बनाएका थिए । जसमा एक शतक र एक अर्धशतक समावेश थियो । यिनै प्रदर्शनका आधारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले उनलाई भारत–ए टोलीमा स्थान दिएको हो ।

एशिया कप राइजिङ स्टार्स टी–२० प्रतियोगिता २०२५ मा वैभवले ४ खेलमा ५९.७५ को औसत र २४३.८७ को स्ट्राइक रेटमा २३९ रन बनाएका थिए । यस क्रममा उनले १४४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । प्रतियोगितामा उनले एक शतक प्रहार गर्नुका साथै २० चौका र २२ छक्का पनि हानेका थिए ।

जुनमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि भारत–ए टोलीमा प्रियांश आर्य, वैभव सूर्यवंशी, आयुष बडोनी, निशान्त सिन्धु र अंशुल कम्बोजजस्ता युवा खेलाडीलाई अवसर दिइएको छ । विकेटकिपरतर्फ प्रभसिमरन सिंह र कुमार कुशाग्र टोलीमा रहेका छन् ।

प्रतियोगिताका सबै खेल दाम्बुलामा खेलाइनेछन् । त्यसपछि भारत–ए टोलीले श्रीलंका–एसँग दुई बहुदिवसीय खेल पनि खेल्नेछ । त्यसका लागि छुट्टै टोली पछि घोषणा गरिने बताइएको छ ।

भारत–ए टोलीमा तिलक वर्मा कप्तान रहेका छन् भने प्रियांश आर्य, वैभव सूर्यवंशी, रियान पराग, आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, सूर्यांश शेडगे, प्रभसिमरन सिंह, कुमार कुशाग्र, विपराज निगम, यश ठाकुर, युधवीर सिंह, अंशुल कम्बोज र अरशद खान समावेश छन् ।

Read More